विश्व दृष्टि दिवस २०२६: आँखाको ज्योति जोगाउने अभियानमा समुदायदेखि विश्वसम्म

Share this
793shares
मुलुकी खबर
कुमार पृथु
clock२०८३ आश्विन २२, बिहीबार १८:०५
विश्व दृष्टि दिवस २०२६ः आँखाको ज्योति जोगाउने अभियानमा समुदायदेखि विश्वसम्म

दृष्टि छ भने संसार देखिन्छ, अवसर देखिन्छ र भविष्य देखिन्छ । त्यसैले आँखाको स्वास्थ्य केवल स्वास्थ्यको विषय होइन, शिक्षा, रोजगारी, आत्मनिर्भरता र जीवनको गुणस्तरसँग जोडिएको आधारभूत अधिकार हो ।

हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबार मनाइने विश्व दृष्टि दिवस यस वर्ष ८ अक्टोबर २०२६ मा विश्वभर विभिन्न जनचेतनामूलक तथा आँखा स्वास्थ्यसम्बन्धी कार्यक्रमका साथ मनाइँदै छ । अन्तर्राष्ट्रिय स्तरमा यस वर्षको अभियानले मानिसका अनुभव, समुदायको सहभागिता र आँखा स्वास्थ्यप्रतिको व्यक्तिगत प्रतिबद्धतालाई केन्द्रमा राख्दै, ‘लभ योर आइज‘ अभियानलाई अघि बढाएको छ। अन्तर्राष्ट्रिय अन्धोपन निवारण एजेन्सी ले यस वर्ष विद्यालय, कार्यस्थल र समुदायमा आँखा परीक्षण तथा जनचेतना विस्तारलाई विशेष प्राथमिकता दिएको छ।

विश्व दृष्टि दिवस केवल एउटा दिवस मनाउने औपचारिक कार्यक्रम होइन । आँखाको स्वास्थ्यप्रति मानिसलाई सचेत गराउने, समयमै आँखा परीक्षण गराउने, उपचारयोग्य दृष्टिविहीनता घटाउने र सबैका लागि गुणस्तरीय आँखा उपचार सेवाको पहुँच सुनिश्चित गर्ने विश्वव्यापी अभियान हो ।

विश्व स्वास्थ्य संगठन (WHO) का पछिल्ला तथ्यांक अनुसार विश्वभर कम्तीमा २.२ अर्ब मानिसमा नजिक वा टाढाको दृष्टिसम्बन्धी समस्या रहेको छ। तीमध्ये कम्तीमा  १ अर्ब मानिसको दृष्टि समस्या रोकथाम गर्न सकिने वा अझै उपचार तथा सम्बोधन हुन नसकेको अवस्थामा छ। अझ चिन्ताजनक कुरा, उपचार तथा सेवाबाट वञ्चित दृष्टि समस्या वा अन्धोपन भएका मानिसमध्ये करिब ९० प्रतिशत निम्न तथा मध्यम आय भएका देशमा बस्छन् ।
विश्वव्यापी रूपमा दृष्टि कमजोर हुनुका प्रमुख कारणमा दृष्टि दोष र मोतीबिन्दु रहेका छन् । यसबाहेक ग्लुकोमा, मधुमेहजन्य आँखाको समस्या, उमेरसँग सम्बन्धित म्याकुलर डिजेनेरेसन, आँखाको चोट तथा अन्य रोगले पनि दृष्टि गुमाउने अवस्था निम्त्याउन सक्छन्।

विश्व स्वास्थ्य संगठनका अनुसार निम्न आय भएका देशमा चस्मा आवश्यक पर्ने प्रत्येक तीन जनामध्ये करिब दुई जनाले आवश्यक चस्मा प्राप्त गर्न सकेका छैनन्। त्यस्तै, विश्वभर मोतीबिन्दुको शल्यक्रिया आवश्यक पर्ने प्रत्येक दुई जनामध्ये करिब एक जनाले अझै शल्यक्रिया सेवा प्राप्त गर्न सकेका छैनन्। उपचार नगरिएको दृष्टि समस्याले स्वास्थ्यमा मात्र होइन, उत्पादकत्व र अर्थतन्त्रमा समेत ठूलो असर पार्छ। विश्वव्यापी रूपमा कमजोर दृष्टिका कारण हुने वार्षिक उत्पादकत्व क्षति करिब ४११ अर्ब अमेरिकी डलर अनुमान गरिएको छ।

यसले एउटा महत्त्वपूर्ण सन्देश दिन्छ, आँखाको उपचारमा गरिएको लगानी स्वास्थ्य क्षेत्रमा मात्र गरिएको लगानी होइन, यो शिक्षा, रोजगारी, उत्पादकत्व र समग्र आर्थिक विकासमा गरिएको लगानी पनि हो।

नेपालले विगत केही दशकमा आँखा स्वास्थ्यका क्षेत्रमा उल्लेखनीय प्रगति गरेको छ। सन् १९८१ मा नेपाल नेत्र ज्योति संघको पहलमा गरिएको पहिलो राष्ट्रिय अन्धोपन सर्वेक्षणमा अन्धोपनको अवस्था उल्लेखनीय रहेको थियो। त्यसपछि नेपालमा नियमित रूपमा आँखा स्वास्थ्य सर्वेक्षण, मोतीबिन्दु शल्यक्रिया, समुदायमा आधारित आँखा शिविर तथा आँखा अस्पतालहरूको विस्तार हुँदै आएको छ।

नेपालमा गरिएको पछिल्लो राष्ट्रिय Rapid Assessment of Avoidable Blindness (RAAB) अध्ययनले ५० वर्ष वा सोभन्दा माथिका मानिसमा अन्धोपन तथा दृष्टि समस्याको अवस्थाबारे महत्त्वपूर्ण तथ्य प्रस्तुत गरेको छ। सन् २०१८ देखि २०२१ सम्म सातै प्रदेशमा गरिएको अध्ययनमा ३३,२२८ जना सहभागीमध्ये ३२,५६५ जनाको आँखा परीक्षण गरिएको थियो। राष्ट्रिय रूपमा ५० वर्षभन्दा माथिका जनसंख्यामा अन्धोपनको प्रकार १.१ प्रतिशत तर कुनै पनि प्रकारको दृष्टि कमजोरीको प्रसार २०.७ प्रतिशत पाइएको थियो । महिलामा अन्धोपनको दर पुरुषको तुलनामा बढी देखिएको थियो ।

उक्त अध्ययनअनुसार नेपालमा ५० वर्षभन्दा माथिका मानिसमध्ये अनुमानित ६० हजारभन्दा बढी व्यक्ति अन्धोपनको अवस्थामा थिए । प्रदेशगत रूपमा पनि फरक अवस्था देखिएको छ। लुम्बिनी प्रदेशमा अन्धोपनको प्रकार तुलनात्मक रूपमा बढी र बागमती तथा सुदूरपश्चिममा कम देखिएको थियो।

सबैभन्दा महत्त्वपूर्ण तथ्य भनेको नेपालमा अन्धोपनको प्रमुख कारण अझै पनि मोतीबिन्दु हुनु हो । राष्ट्रिय RAAB अध्ययनमा अन्धोपनका कारणमध्ये मोतीबिन्दुको हिस्सा ६५.२ प्रतिशत रहेको पाइएको छ। त्यसपछि आँखाको पारदर्शी भागमा हुने अन्य समस्या, ग्लुकोमा, उमेरसम्बन्धी म्याकुलर डिजेनेरेसनलगायत कारण रहेका छन्।
यसको अर्थ नेपालमा धेरै मानिसको दृष्टि गुम्नु अनिवार्य नियति होइन । समयमै परीक्षण, सही उपचार र आवश्यक शल्यक्रिया उपलब्ध गराउन सके ठूलो संख्यामा दृष्टि जोगाउन सकिन्छ।

उमेर बढ्दै जाँदा आँखाभित्रको प्राकृतिक लेन्समा पारदर्शिता कम हुँदै गएर धमिलो हुने अवस्थालाई मोतीबिन्दु भनिन्छ। यसले बिस्तारै दृष्टि कमजोर बनाउँदै लैजान सक्छ। सुरुआती अवस्थामा सामान्य देखिए पनि उपचार नगर्दा दैनिक जीवन, हिँडडुल, कामकाज र आत्मनिर्भरतामा गम्भीर असर पर्न सक्छ।

नेपालमा मोतीबिन्दुका कारण हुने दृष्टिविहीनता घटाउन आँखा अस्पताल, गैरसरकारी संस्था, सामुदायिक संस्था तथा विभिन्न साझेदार संस्थाले लामो समयदेखि महत्त्वपूर्ण योगदान दिँदै आएका छन्। तर सेवाको पहुँच बढे पनि अझै पनि दुर्गम क्षेत्र, गरिब परिवार, वृद्धवृद्धा तथा महिलाहरू उपचारको पहुँचबाट बाहिर रहने समस्या देखिन्छ।
राष्ट्रिय RAAB अध्ययनले पनि महिलामा अन्धोपन पुरुषको तुलनामा बढी रहेको देखाएको छ। यसले आँखा स्वास्थ्यमा लैङ्गिक समानता र पहुँचलाई पनि प्राथमिकतामा राख्नुपर्ने देखाउँछ।

आँखा स्वास्थ्यका क्षेत्रमा एउटा ठूलो चुनौती रोगको उपचारभन्दा पहिले रोगबारे जानकारी र उपचार खोज्ने व्यवहार हो। धेरै मानिसले दृष्टि बिस्तारै कम हुँदै गएपछि पनि यसलाई उमेरको स्वाभाविक असर मानेर उपचारमा ढिलाइ गर्ने गर्छन्। मोतीबिन्दुमा शल्यक्रिया आवश्यक पर्न सक्छ भन्ने जानकारी नहुनु, उपचारप्रतिको डर, आर्थिक समस्या, परिवारको सहयोगको अभाव, स्वास्थ्य संस्थासम्म पुग्न कठिनाइ तथा दुर्गम भौगोलिक अवस्थाले उपचारमा ढिलाइ गराउन सक्छ।

त्यसैले विश्व दृष्टि दिवसको मुख्य उद्देश्य मानिसलाई एउटा सरल सन्देश दिनु पनि हो, आँखा नदेखिएपछि मात्र होइन, देखिरहेको बेलामै आँखाको हेरचाह गर्नुपर्छ । नियमित आँखा परीक्षण, मधुमेह तथा उच्च रक्तचापजस्ता रोगको उचित नियन्त्रण, आँखामा चोट लाग्नबाट बच्ने उपाय, बालबालिकाको समयमै दृष्टि परीक्षण र दृष्टि कमजोर भएमा चिकित्सकको सल्लाहअनुसार चस्मा प्रयोग गर्नु आँखाको स्वास्थ्यका लागि महत्त्वपूर्ण छन्।

बालबालिकामा देखिने दृष्टि समस्या समयमै पहिचान गर्न नसक्दा उनीहरूको सिकाइ, शैक्षिक उपलब्धि र सामाजिक विकासमा दीर्घकालीन असर पर्न सक्छ। विद्यालयमा बोर्ड नदेख्ने, किताब पढ्न कठिन हुने, टाउको दुख्ने वा आँखा मिचिरहने जस्ता लक्षणलाई सामान्य ठान्नु हुँदैन । त्यसैले विद्यालयमा नियमित आँखा परीक्षण तथा दृष्टि स्क्रिनिङ अत्यन्त महत्त्वपूर्ण छ । आई.ए. पी.वी. ले पनि विश्व दृष्टि दिवस २०२६ का अवसरमा विद्यालय तथा समुदायमा स्क्रिनिङ कार्यक्रमलाई विश्वव्यापी अभियानको एउटा महत्त्वपूर्ण हिस्सा बनाएको छ।

विद्यालय स्तरको स्क्रिनिङबाट दृष्टि समस्या भएका बालबालिका पहिचान गरी आवश्यक परामर्श, चस्मा वा थप उपचारका लागि सम्बन्धित स्वास्थ्य संस्थामा पठाउन सकिन्छ। यसले बालबालिकाको शैक्षिक भविष्य मात्र होइन, उनीहरूको आत्मविश्वास र सामाजिक सहभागिता पनि बढाउन मद्दत गर्छ।

नेपालजस्तो भौगोलिक विविधता भएको देशमा आँखा स्वास्थ्य सेवा अस्पतालभित्र मात्र सीमित राखेर सबै नागरिकसम्म पुर्‍याउन सम्भव हुँदैन। हिमाल, पहाड र तराईका दुर्गम बस्तीमा बस्ने नागरिकलाई लक्षित गर्दै आउटरीच कार्यक्रम, आँखा शिविर, मोबाइल स्क्रिनिङ तथा स्थानीय स्वास्थ्य संस्थासँग सहकार्य आवश्यक हुन्छ।
यही सोचका साथ विश्व दृष्टि दिवस २०२६ को अवसरमा विभिन्न स्थानमा समुदाय केन्द्रित कार्यक्रम सञ्चालन भइरहेका छन्। विद्यालयमा आँखा परीक्षण, दृष्टि समस्या भएका व्यक्तिको पहिचान, उपचार तथा परामर्श, जनचेतनामूलक सामग्रीको प्रसार र समुदायमा सचेतना अभियानले आँखाको स्वास्थ्यलाई घर–घरमा पुर्‍याउन महत्त्वपूर्ण भूमिका खेल्न सक्छ।

यस वर्ष विभिन्न आँखा स्वास्थ्य संस्थाले विद्यालय स्क्रिनिङ क्याम्प, डी. एस.टी. क्याम्प, आँखा स्वास्थ्यसम्बन्धी रिल्स प्रतियोगिता तथा दुर्गम तथा पहाडी क्षेत्रमा जनचेतनामूलक र्‍यालीजस्ता कार्यक्रममार्फत विश्व दृष्टि दिवस मनाउने तयारी गरेका छन् । यस्ता कार्यक्रमले आँखा स्वास्थ्यलाई अस्पतालबाट समुदायसम्म र चिकित्सकबाट सर्वसाधारणसम्म जोड्ने काम गर्छन् । डिजिटल प्रविधिको विस्तारसँगै आँखा स्वास्थ्यसम्बन्धी जनचेतना फैलाउने माध्यम पनि परिवर्तन भएको छ। आजका युवालाई केवल परम्परागत पोस्टर र पर्चाबाट मात्र होइन, सामाजिक सञ्जाल, भिडियो, रिल्सर डिजिटल सामग्रीमार्फत पनि जोड्न सकिन्छ।

आँखा स्वास्थ्यसम्बन्धी रिल्स प्रतियोगिताजस्ता कार्यक्रमले युवालाई सिर्जनात्मक रूपमा अभियानमा सहभागी गराउन सक्छ। सही जानकारीलाई आकर्षक र सरल भाषामा प्रस्तुत गर्न सके सामाजिक सञ्जाल ठूलो जनसमुदायसम्म पुग्ने प्रभावकारी माध्यम बन्न सक्छ। तर डिजिटल माध्यम प्रयोग गर्दा गलत स्वास्थ्य सूचना फैलिन नदिन विशेषज्ञबाट प्रमाणित जानकारीलाई प्राथमिकता दिनु आवश्यक छ। विश्व स्वास्थ्य संगठनले आँखा उपचारलाई प्राथमिक स्वास्थ्य सेवासँग एकीकृत गर्ने, सेवाको पहुँच र गुणस्तर सुधार गर्ने तथा मानिसको आवश्यकतामा आधारित एकीकृत जन केन्द्रित आँखा हेरचाह विकास गर्ने अवधारणामा जोड दिएको छ।

यसको अर्थ आँखा स्वास्थ्यलाई छुट्टै क्षेत्रका रूपमा मात्र हेर्नु पर्याप्त हुँदैन। मधुमेह, उच्च रक्तचाप, वृद्धावस्था, बाल स्वास्थ्य, विद्यालय स्वास्थ्य तथा गैर सर्ने रोगसम्बन्धी कार्यक्रमसँग आँखा स्वास्थ्यलाई जोड्न आवश्यक छ।
नेपालमा पनि अबको प्राथमिकता केवल धेरै शल्यक्रिया गर्नुमा सीमित नभई रोकथाम, प्रारम्भिक पहिचान, उपचार, पुनर्स्थापना र निरन्तर हेरचाहलाई एउटै प्रणालीमा जोड्नु हुनुपर्छ।

विश्व दृष्टि दिवसले हामीलाई एउटा महत्त्वपूर्ण प्रश्न सोध्छ, हामीले आफ्नो आँखाको स्वास्थ्यलाई कति प्राथमिकता दिएका छौँ । दृष्टि कमजोर हुँदा मात्र आँखा अस्पताल जाने होइन, नियमित आँखा परीक्षणलाई स्वास्थ्य जीवनशैलीको हिस्सा बनाउन आवश्यक छ।विशेषगरी बालबालिका, वृद्धवृद्धा, मधुमेह भएका व्यक्ति, उच्च रक्तचाप भएका व्यक्ति तथा आँखा रोगको पारिवारिक इतिहास भएका व्यक्तिले नियमित आँखा परीक्षणमा ध्यान दिनुपर्छ। आँखाको समस्या समयमै पहिचान भएमा धेरै अवस्थामा दृष्टि जोगाउन, सुधार गर्न वा थप क्षति रोक्न सकिन्छ। त्यसैले विश्व दृष्टि दिवसको सन्देश एउटा दिनका लागि मात्र सीमित हुनु हुँदैन।

विद्यालयमा एउटा परीक्षण, गाउँमा एउटा शिविर, परिवारमा एउटा सचेतना र व्यक्तिको एउटा नियमित आँखा परीक्षण, यी साना प्रयासले ठूलो परिवर्तन ल्याउन सक्छन्। नेपालले विगत चार दशकमा अन्धोपन घटाउने क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरेको छ। अबको चुनौती भनेको बाँकी रहेको उपचारयोग्य दृष्टि समस्या हटाउनु, दुर्गम तथा वञ्चित समुदायसम्म सेवा पुर्‍याउनु र महिला तथा कमजोर आर्थिक अवस्थाका नागरिकको पहुँच सुनिश्चित गर्नु हो। विश्व दृष्टि दिवस २०२६ ले यही सन्देश बोकेको छ, आँखालाई माया गरौँ, दृष्टिको संरक्षण गरौँ र कसैलाई पनि उपचारयोग्य कारणले दृष्टिविहीन हुन नदिऔँ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×