साहित्यतर्फको नोबेल पुरस्कार क्यानडाकी एन कार्सनलाई

Share this
642shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन २२, बिहीबार २१:०५

काठमाडौ । यस वर्षको साहित्यतर्फको नोबेल पुरस्कार क्यानडाकी कवयित्री तथा लेखिका एन कार्सनलाई प्रदान गरिने भएको छ । नोबेल समितिका अनुसार शास्त्रीय परम्परासँग रोचक संवाद गर्दै समकालीन साहित्यका लागि नयाँ रूप सिर्जना गर्ने उनका साहसिक तथा नवीन कृतिका लागि कार्सनलाई पुरस्कार प्रदान गर्ने निर्णय गरिएको हो ।

सन् १९५० मा क्यानडाको टोरोन्टोमा जन्मिएकी कार्सनले सन् १९८१ मा शास्त्रीय साहित्यमा विद्यावारिधिको शोधप्रबन्ध प्रकाशित गरेकी थिइन्। कविता लेखनसँगै उनले अनुवाद तथा विश्वविद्यालयमा अध्यापनसमेत गर्दै आएकी छन् । कार्सन नोबेल साहित्य पुरस्कार प्राप्त गर्ने १९औँ महिला हुन् । सन् १९९० को दशकमा उनले ‘ग्लास, आइरनी, एन्ड गड’ लगायतका चर्चित कृति प्रकाशित गरेकी थिइन्। सन् १९९५ मा प्रकाशित उक्त कृतिभित्रको ‘द ग्लास एसे’ले लामो कविताको सम्भावना र सामर्थ्यलाई नयाँ ढंगले प्रस्तुत गरेको मानिन्छ ।

त्यस्तै, सन् १९९८ मा प्रकाशित ‘अटोबायोग्राफी अफ रेड: अ नोभल इन भर्स’लाई कार्सनको उत्कृष्ट रचनामध्ये एक मानिन्छ । सन् २०१० मा प्रकाशित ‘नक्स’ले पनि व्यापक प्रशंसा पाएको थियो । नोबेल समितिका अनुसार कार्सनका कृतिमा शब्दप्रतिको भाषाशास्त्रीय मोह र नयाँ अर्थको खोजी गर्ने कविको उत्कट चाहना स्पष्ट देखिन्छ। उनका लागि शब्दको व्युत्पत्ति साहित्यिक सिर्जनाको महत्त्वपूर्ण प्रस्थान बिन्दु रहँदै आएको समितिले जनाएको छ ।

नोबेल पुरस्कार आगामी १० डिसेम्बरमा स्विडेनको राजधानी स्टक्होममा प्रदान गरिनेछ। विजेतालाई नोबेल पदक, डिप्लोमा तथा पुरस्कार रकम प्राप्त भएको पुष्टि गर्ने पत्र प्रदान गरिनेछ । साहित्यतर्फको नोबेल पुरस्कारका लागि स्वीडिश अक्याडमीका सदस्य, साहित्य तथा भाषाका प्राध्यापक, यसअघिका नोबेल पुरस्कार विजेता र विभिन्न देशका साहित्यिक संस्थाका प्रतिनिधिसहित समितिले योग्य व्यक्तिहरूसँग मनोनयन माग्ने गर्छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×