
काठमाडौं । नेपाली कांग्रेसका नेता विश्वप्रकाश शर्माले १५औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भइरहेको निर्वाचनमा प्यानलगत चिट बाँडिएको भन्ने हल्ला झुटो भएको बताएका छन् । सभापतिका उम्मेदवार गगन थापाको प्यानल भन्दै उम्मेदवारहरूको सूची सामाजिक सञ्जालमार्फत प्रचार भएपछि शर्माले त्यसको खण्डन गरेका हुन् ।
वरिष्ठ उपसभापति पदका उम्मेदवारसमेत रहेका शर्माले आफूहरूले प्यानल बनाएर सूची नबाँडेको स्पष्ट पारेका छन् । सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘हामीले बनाएको/पठाएको भनेर प्यानलको चिट बाँडिएको थाहा पाएको छु । ती सबै फेक हुन् । सभापति र मेरा लागि सबै उम्मेदवार साथीहरू समान हुनुहुन्छ । हामीले प्यानल बनाउनु आवश्यक छैन।’
शर्माले सभापतिका उम्मेदवार थापाले पनि आफ्नो नाम जोडेर प्रचार गरिएका प्यानलगत सूची झुटा भएको बताइसकेको उल्लेख गरेका छन् । उनले महाधिवेशन प्रतिनिधिहरूलाई विशेष महाधिवेशनको पक्ष र विपक्षका आधारमा नभई पार्टीको एकतालाई ध्यानमा राखेर मतदान गर्न आग्रह गरेका छन् ।
‘जो साथीहरूले जिते पनि सबै समान हुनुहुन्छ । महाधिवेशन प्रतिनिधिहरूले मत दिँदा विशेष महाधिवेशनको पक्ष/विपक्ष छुट्याएर दिनुहुन्न । मत परिणाम आउँदा त्यहाँ सबै थरी अनुहारको सन्तुलित प्रतिनिधित्व देखिनु पार्टीको बृहत्तर एकताको पक्षमा हुनेछ,’ शर्माले भनेका छन् । गगन थापाको प्यानल भन्दै उम्मेदवारहरूको सूची सामाजिक सञ्जालमा फैलिएको विषयमा शर्माले यस्तो धारणा सार्वजनिक गरेका हुन् ।



















