कांग्रेस महाधिवेशनः मतदानको समय दुई घण्टा थपियो

Share this
751shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन २३, शुक्रबार १४:४३

काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि भइरहेको मतदानको समय दुई घण्टा थप गरिएको छ । दिउँसो ३ बजेसम्मको समय तोकिएकामा मतदान गर्न एक जनालाई कम्तीमा आधा घण्टा लागेसँगै ढिलाई हुँदा साँझ ५ बजेसम्मको समय थपिएको हो ।

केन्द्रीय निर्वाचन समितिले सूचना जारी गर्दै यसअघि दिउँसो ३ बजेसम्मका लागि निर्धारण गरिएको मतदानको समय बढाएर साँझ ५ बजेसम्म कायम गरिएको जनाएको छ ।

बिहान ७ बजेपछि शुरू भएको मतदानमा महाधिवेशन प्रतिनिधिहरू सहभागी भइरहेका छन् । मतदान केन्द्रमा प्रतिनिधिहरूको लामो लाइन लागेपछि मतदानको समय थप गरिएको हो ।

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि ७ हजार ३१७ जना महाधिवेशन प्रतिनिधिले मतदान गर्दैछन् । महाधिवेशनबाट सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्री तथा केन्द्रीय सदस्यसहितलाई गरी २३ वटा क्लस्टरमा मतदान गर्नुपर्ने भएकाले समय लागेको हो ।

निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले सूचना जारी गर्दै मतदानको समय थप गरिएको जानकारी दिएका हुन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×