
विराटनगर । मदन भण्डारी लोकमार्गअन्तर्गत उदयपुरको त्रियुगा नगरपालिका–११ मा पिकअप गाडीलाई सिटी सफारीले पछाडिबाट ठक्कर दिँदा नाबालिकाको मृत्यु भएको छ । चार जना घाइते भएका छन् ।
पानी बोकेर आँखा अस्पतालबाट मेनचोकतिर जाँदै गरेको को प्र–०५–००१ च ०१९० नम्बरको पिकअपलाई सोही दिशातर्फ जाँदै गरेको को प्र–०५–००१ ह ०८७६ नम्बरको सिटी सफारीले पछाडिबाट ठक्कर दिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार शुक्रबार बिहान १०ः२५ बजेतिर दुर्घटना हुँदा सफारीमा सवार रहेका नाबालिकासहित पाँच जना घाइते भएका थिए ।
घाइतेमध्ये त्रियुगा–१ घर भएका शिवकुमार सदाकी छोरी अन्दाजी २ वर्षीया रागिनी सदाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार गम्भीर अवस्थाकी उनलाई जिल्ला अस्पताल गाईघाटमा उपचारका क्रममा दिउँसो १२ः५६ बजेतिर चिकित्सकले मृत घोषणा गरिदिएका हुन् ।
दुर्घटनामा परेर सफारीमा सवार त्रियुगा–१ की अन्दाजी ३० वर्षीया लल्की सदा, अन्दाजी ६० वर्षीया बिसिनी सदा, त्रियुगा–९ की अन्दाजी ७० वर्षीया कन्नि सदा र ५० वर्षीया मैनी सदा घाइते भएको प्रहरीले जनाएको छ । सबै जनाको अवस्था सामान्य रहेको प्रहरीको भनाइ छ ।
दुर्घटनालगत्तै पिकअप चालक त्रियुगा–९ का अन्दाजी २९ वर्षीय अरुण राई र सफारी चालक त्रियुगा–९ का अन्दाजी ३३ वर्षीय जनक कटवाललाई नियन्त्रणमा लिएर प्रहरीले घटनाको विस्तृत अनुसन्धान सुरु गरेको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट सफारी चालकले मादक पदार्थ सेवन (मापसे) गरेको पत्ता लागेको छ ।
चालकले मापसे गरेर सफारी चलाउँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । घटनाका बारेमा प्रहरीले शुक्रबार दिउँसो २ः४० बजेतिर मात्रै जानकारी पाएको थियो ।



















