
इलाम । गत असोजमा आएको भीषण बाढी र पहिरोका कारण क्षतिग्रस्त बनेको मेची राजमार्गको इलाम खण्डमा सडक स्तरोन्नति तथा पुनःनिर्माणको काम तीव्र गतिमा अघि बढाइएको छ ।
इलामका मुख्य व्यापारिक तथा आवासीय क्षेत्र जोड्ने धोबीधारादेखि मिलगोईसम्मको कुल १५ किलोमिटर सडक खण्डलाई दुई भागमा विभाजन गरी स्तरोन्नतिको काम भइरहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनील लम्सालले जानकारी दिएका छन् ।
मन्त्री लम्सालका अनुसार सडक निर्माणलाई सहज र छिटो सम्पन्न गर्न पहिलो खण्ड (धोबीधारादेखि ढकालबारीसम्म ७.५ किलोमिटर) र दोस्रो खण्ड (ढकालबारीदेखि मिलगोईसम्म ९७।५ किलोमिटर) गरी विभाजन गरिएको छ ।
कुल ८० करोड रुपैयाँ लागत अनुमान गरिएको यस आयोजनाको ठेक्का सम्झौता गत २०८३ जेठ २१ गते भएको थियो । बर्खायामको प्रतिकूल मौसम र निरन्तरको झरीका बाबजुद पनि निर्माण व्यवसायीले काम निरन्तर जारी राखेका कारण हालसम्म १० प्रतिशत भौतिक प्रगति हासिल भइसकेको छ ।
यो सडक खण्डको निर्माण कार्य आगामी २०८५ साल मंसिर १९ गतेसम्म सम्पन्न गर्ने तालिका रहेको छ ।
मेची राजमार्ग पूर्वी नेपालका ताप्लेजुङ, पाँचथर, इलाम र झापालाई जोड्ने मुख्य ‘लाइफलाइन’ हो । गत वर्षको असोजमा गएको बाढी-पहिरोले धोबीधारा तथा आसपासका क्षेत्रमा सडक कटान गर्नुका साथै जगैदेखि भासिएपछि सवारी आवागमन जोखिमपूर्ण बनेको थियो ।
इलाम बजार प्रवेश गर्ने र ओझेल पर्ने यो मुख्य सडक बिग्रिँदा स्थानीय उत्पादन बजारसम्म पुर्याउन र दैनिक यात्रामा सर्वसाधारणले निकै सास्ती व्यहोर्दै आएका थिए ।
सडकको दीर्घकालीन समाधानका लागि नयाँ संरचनासहित दुई खण्डमा विभाजन गरी स्तरोन्नति सुरु गरिएपछि स्थानीयवासी तथा व्यवसायीमा खुसी र आशा पलाएको छ । समयमै काम सम्पन्न भएमा पूर्वी पहाडी जिल्लाहरूको यातायात सेवा थप सुरक्षित र सहज हुने अपेक्षा गरिएको छ ।



















