
गोरखा । गोरखाको बूढीगण्डकी नदीमा आएको बाढीपछि पाँच जना स्थानीय बेपत्ता भएका छन् । बेपत्ता हुनेमा दुई महिला र तीन पुरुष छन् । उनीहरू चुमनुब्री गाउँपालिका–६ चुन्चेतका बासिन्दा हुन् ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बेपत्ता हुनेमा ६५ वर्षीय सोनाम लामा, उनकी ५९ वर्षीया श्रीमती मोम्मो अजी लामा, ६६ वर्षीया भुटी लामा, ७३ वर्षीय कर्मा लामा र ४१ वर्षीय पेमा दोर्जे लामा रहेका छन् ।
प्राधिकरणका अनुसार उनीहरू चुम्चेतको उङ्गिलुङस्थित भेडीगोठमा थिए । बूढीगण्डकी नदीमा बाढी आएपछि उनीहरू सम्पर्कविहीन भएका हुन् ।
चुमनुब्री गाउँपालिका–६ अन्तर्गत लोक्पा र चुम्लिङबीचको क्षेत्रमा आइतबार बिहान ठूलो पहिरो गएको थियो । पहिरोले बूढीगण्डकी नदीको बहाव रोकेपछि नदीमा लेदोसहितको ठूलो बाढी आएको प्राधिकरणले जनाएको छ ।
अचानक आएको बाढीले ठूलो भौतिक क्षति पुर्याएको छ । बाढीपछि सम्पर्कविहीन भएका पाँचै जनाको अवस्था अझै स्पष्ट हुन नसकेको र खोजी थालिएको प्राधिकरणले जनाएको छ ।

























