
काठमाडौं । नेपालको इतिहासमा योगदान पुर्याएका बिसे नगर्ची र बाङ्गे सार्कीको सम्मानमा हुलाक सेवा विभागले हुलाक टिकट प्रकाशन गरेको छ। विभागले दुवै ऐतिहासिक व्यक्तित्वको सम्मानमा टिकट प्रकाशन गर्दै प्रथम दिवसीय टाँचा पनि लगाएको हो।
टिकट प्रकाशनसँगै प्रथम दिवसीय टाँचा लगाउने अवसर पाउँदा आफूलाई गर्व र सन्तोषको अनुभूति भएको सूचना तथा सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले बताएका छन् । उनले यस महत्त्वपूर्ण कार्यका लागि हुलाक सेवा विभाग तथा सम्बन्धित सबैलाई धन्यवाद दिएका छन्।
तिमिल्सिनाले यस कदमलाई नेपालको इतिहासलाई समावेशी दृष्टिकोणबाट हेर्ने र राष्ट्र निर्माणमा दलित समुदायले पुर्याएको योगदानलाई उचित सम्मान दिने दिशामा महत्त्वपूर्ण उपलब्धिका रूपमा व्याख्या गरेका छन्।
‘राष्ट्रको इतिहास कुनै एक व्यक्ति वा समुदायको योगदानले मात्र बनेको हुँदैन। तर, इतिहास निर्माणमा योगदान दिएका सबैको सम्मान समान रूपमा हुन सकेको छैन,’ उनले भनेका छन्, ‘बिसे नगर्ची र बाङ्गे सार्कीको योगदानलाई राष्ट्रिय पहिचान दिनु यही ऐतिहासिक रिक्तता पूरा गर्ने दिशामा एउटा अर्थपूर्ण कदम हो।’
इतिहासमा योगदान पुर्याउने सबै व्यक्तित्वको सम्मान हुनु न्यायपूर्ण समाजको आधार भएको उनको भनाइ छ। राज्यको यो कदम दुई ऐतिहासिक व्यक्तित्वको सम्मानमा मात्र सीमित नभई समग्र दलित समुदायको आत्मसम्मान, पहिचान र गौरवसँग समेत जोडिएको उनले उल्लेख गरेका छन्।
नेपाल एकीकरणका क्रममा गोर्खाका राजा पृथ्वीनारायण शाहलाई आर्थिक तथा रणनीतिक सल्लाह दिएको श्रेय बिसे नगर्चीलाई दिइन्छ। त्यस्तै, हातहतियार तथा छालाका सामग्री निर्माणमा योगदान पुर्याएका बाङ्गे सार्कीको भूमिकालाई पनि नेपाली इतिहासमा महत्त्वपूर्ण मानिन्छ।



















