
विराटनगर । मोरङ र सुनसरीका विभिन्न स्थानबाट प्रहरीले लागूऔषध ब्राउन सुगरसहित नौ जनालाई पक्राउ गरेको छ ।शुक्रबार राति मोरङको रंगेली नगरपालिका-८ मा को २ ह ४१८२ नम्बरको ई-रिक्साको सिटमुनि लुकाएर राखिएको १० ग्राम १०० मिलिग्राम ब्राउन सुगरसहित तीन जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा ई-रिक्साचालक कानेपोखरी गाउँपालिका-७ का २१ वर्षीय अर्पन जोगी तथा ई-रिक्सामा सवार पथरी शनिश्चरे नगरपालिका-१ का रोसन विश्वकर्मा र रितेश लिम्बू छन् ।
यसैगरी, मोरङको विराटनगर महानगरपालिका–१६ बाट २ ग्राम २३० मिलिग्राम ब्राउन सुगरसहित एक जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय रानी र लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरको संयुक्त टोलीले को ३१ प २४७७ नम्बरको मोटरसाइकल चालक लेटाङ नगरपालिका-५ का ३० वर्षीय विशेष मगरलाई पक्राउ गरेको हो ।
सुनसरीको इनरुवा नगरपालिका-४, बसचोकबाट केराबारी गाउँपालिका-३ का २४ वर्षीय सुमन राई १ ग्राम ८६ मिलिग्राम ब्राउन सुगरसहित पक्राउ परेका छन् । त्यस्तै, इटहरी उपमहानगरपालिका-२ का ३२ वर्षीय भविन प्रधान र ३० वर्षीय रविनकुमार प्रधान तथा इटहरी-३ का ३१ वर्षीय मुकेन्द्रकुमार राई ६ ग्राम ४० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ परेका छन् । पक्राउ परेका सबै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

























