
काठमाडौं । नेपाली कांग्रेसको उपसभापति र महामन्त्री पदको मतगणना सकिएको छ । उपसभापतिमा चन्द्र भण्डारी, मधु आचार्य र विनोद चौधरी उपसभापतिमा निर्वाचित भएका छन् । महामन्त्रीमा प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी भएका छन् ।
उपसभापतिको खुलातर्फ भण्डारी र आचार्य निर्वाचित भएका हुन् भने समावेशी समूहबाट चौधरीले बाजी मारेका छन् । महामन्त्रीमा खुलातर्फ पौडेल र राणा विजयी हुँदा महिलातर्फ संग्रौला निर्वाचित भएकी छन् ।
खुला उपसभापतिमा भण्डारीले ३ हजार ७३५ मत प्राप्त गर्दै पहिलो स्थान हासिल गरे । आचार्यले २ हजार ३४२ मत पाएर दोस्रो स्थानमा रहँदै जित निकाले । यस पदका अन्य प्रतिस्पर्धी गोविन्द भट्टराईले १ हजार ७५२, सुरेन्द्रराज पाण्डेले १ हजार ६७३, धनराज गुरुङले १ हजार ५९६, दीपक गिरीले ९२३ र चन्द्रमोहन यादवले ७६० मत प्राप्त गरेका छन् ।
समावेशी उपसभापतिमा चौधरीले निकटतम प्रतिस्पर्धी जीवन परियारलाई ८७ मतले पछि पारे । चौधरीले १ हजार ७४५ मत प्राप्त गर्दा परियारले १ हजार ६५८ मत पाए । फरमुल्लाह मन्सुरले १ हजार १४४, सीता गुरुङले १ हजार ११२ र रञ्जित कर्णले ५६२ मत प्राप्त गरे ।
महामन्त्रीको खुलातर्फ पौडेलले सबैभन्दा बढी ४ हजार १९४ मत ल्याएर जित हासिल गरे । दोस्रो स्थानमा रहेका राणाले २ हजार ३३० मत प्राप्त गरे । राणाका निकटतम प्रतिस्पर्धी डा. सुनीलकुमार शर्माले २ हजार २५७ मत पाउँदा दुई उम्मेदवारबीचको मतान्तर ७३ मात्रै रह्यो ।
खुला महामन्त्रीका अन्य उम्मेदवारमध्ये गुरुराज घिमिरेले १ हजार ५१३, नैनसिंह महरले १ हजार १३४, अमरसिंह पुन मगरले १ हजार १२५, शंकर तिवारीले १२३ र सन्तोष उपाध्यायले ९७ मत प्राप्त गरे ।
महिला महामन्त्रीमा संग्रौलाले ३ हजार ११८ मतसहित जित हात पारिन् । उनकी निकटतम प्रतिस्पर्धी महालक्ष्मी उपाध्याय ‘डिना’ले २ हजार ८६४ मत प्राप्त गर्दा रीता खनालले ८०४ मत पाइन् ।
यसअघि नै कांग्रेस सभापतिमा गगन थापा निर्वाचित भइसकेका छन् । वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा र महिला उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित भएका छन् ।
कांग्रेसको संशोधित विधानअनुसार पार्टीमा एक वरिष्ठ उपसभापतिसहित चार उपसभापति र तीन महामन्त्री रहने व्यवस्था छ । उपसभापतिमध्ये दुई जना खुला प्रतिस्पर्धाबाट, एक जना महिला र एक जना समावेशी समूहबाट निर्वाचित हुने व्यवस्था गरिएको छ ।



















