उद्योगी–व्यवसायीका समस्या समाधान गर्न संसदीय समितिका सभापतिको प्रतिबद्धता

Share this
709shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन २६, सोमबार २०:१०
उद्योगी–व्यवसायीका समस्या समाधान गर्न संसदीय समितिका सभापतिको प्रतिबद्धता

विराटनगर । मोरङ उद्योग व्यापार संघले उद्योग तथा व्यवसाय क्षेत्रमा देखिएका समस्या समाधानका लागि संघीय संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति रहबर अन्सारीको ध्यानाकर्षण गराएको छ ।

संघका अध्यक्ष अनिलकुमार साहको सभापतित्वमा आयोजित भेटघाट तथा अन्तरक्रियामा उद्योगी–व्यवसायीले कर प्रणाली, आयात–निर्यात, बैंकिङ सुविधा, उधारो असुली र औद्योगिक पूर्वाधारलगायतका समस्याबारे छलफल गरेका थिए ।

अध्यक्ष साहले विकास निर्माणमा सुस्तता, युवाशक्ति पलायन र आन्तरिक मागमा आएको संकुचनले अर्थतन्त्र प्रभावित भएको उल्लेख गर्दै विराटनगरमा सुविधासम्पन्न औद्योगिक क्षेत्र निर्माण गर्न माग गरे ।  उनले जुटको आन्तरिक खपत बढाउने नीति, तीन तहका सरकारका करबाट परेको वित्तीय भार न्यूनीकरण, भारत निर्यातका लागि बीआईएस प्रमाणीकरणको सहज व्यवस्था तथा साना व्यवसायमा एमआरपी अनिवार्य गर्दा देखिएका समस्या समाधान गर्न आग्रह गरे ।

त्यस्तै, व्यवसायीहरूले उधारो असुली ऐन निर्माण, भ्याट तथा कर प्रणालीमा देखिएका विरोधाभास हटाउने, अत्यधिक आयात शुल्क पुनरावलोकन, स्वदेशी कच्चापदार्थको निर्यात व्यवस्थापन, उद्योगलाई विद्युत्मा सहुलियत, टर्नओभर कर हटाउने र अव्यवहारिक कवाडी कर खारेज गर्नुपर्ने माग राखेका थिए ।

संघका निवर्तमान अध्यक्ष अनुपम राठीले स्वदेशी उत्पादन र उद्योगलाई प्राथमिकता दिने नीति आवश्यक रहेको बताउँदै सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्नेमा जोड दिए ।

उद्योगी–व्यवसायीका समस्या सुनेपछि सभापति अन्सारीले निजी क्षेत्रको प्रवर्द्धनबिना मुलुकको समृद्धि सम्भव नहुने उल्लेख गर्दै प्रस्तुत समस्या तथा नीतिगत सुझावलाई संसदीय समितिमा छलफल गरी सम्बन्धित मन्त्रालयमार्फत सम्बोधन गराउन प्रभावकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा संघका पदाधिकारी, कार्यसमिति सदस्य, महिला तथा युवा उद्यमी र विभिन्न क्षेत्रका उद्योगी–व्यवसायीको सहभागिता थियो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×