नेपाल विजयी

Share this
719shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन २६, सोमबार ०६:२०

काठमाडौं । पूर्वकप्तान रोहित पौडेलको शतकीय इनिङ्ससँगै नेपालले आईसीसी पुरुष विश्वकप लिग–२ अन्तर्गत क्यानडाविरुद्धको खेलमा २४ रनको जित निकालेको छ ।

ओमानको अल अमिरात क्रिकेट मैदानमा आइतबार भएको प्रतिस्पर्धामा नेपालले दिएको २३६ रनको लक्ष्य पछ्याएको क्यानडा ४८ ओभर ४ बलमा २११ रनमै समेटियो । नेपालको जितमा रोहितले ब्याटिङतर्फ उत्कृष्ट प्रदर्शन गरे भने बलिङमा सन्दीप लामिछाने, करण केसी, ललित राजवंशी र नन्दन यादवले समान दुई विकेट लिए । जितसँगै नेपालले लिग–२ को अंक तालिकामा आफ्नो स्थिति सुधार गरेको छ ।

लक्ष्य पछ्याउने क्रममा क्यानडाले सुरुआतदेखि नै निरन्तर विकेट गुमायो । उसका लागि आरोन जोनसनले ४९ बलमा ६ चौकासहित ४४ रन बनाए । अमित गोहेलले ३५ रन जोड्दा अखिल कुमार ३० रनमा अविजित रहे । श्रेयस मोभ्भा र कप्तान हम्जा तारिकले समान २६ रन बनाए पनि टोलीलाई जितसम्म पुर्‍याउन सकेनन् ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा सबै विकेट गुमाएर २३५ रन बनाएको थियो । नेपालको इनिङ्समा रोहितको शतक मुख्य आकर्षण बन्यो । चौथो क्रममा आएका उनले १२६ बलमा आठ चौका र एक छक्काको मद्दतमा १०१ रन बनाए । ४८ ओभर ३ बलमा आउट भएका रोहितले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो तेस्रो शतक पूरा गरे ।

रोहितले शतक बनाएपछि नेपालको इनिङ्सलाई प्रतिस्पर्धात्मक स्कोरसम्म पुर्‍याउन मद्दत मिल्यो । उनले यसअघि कुशल भुर्तेलको नाममा रहेको नेपालको एकदिवसीय अन्तर्राष्ट्रिय शतकको कीर्तिमानसमेत तोडे ।

नेपालका लागि गुल्सन झाले अन्तिमतिर आक्रामक ब्याटिङ गरे । उनले ३४ बलमा चार चौका र तीन छक्कासहित ४८ रन बनाए । अर्धशतक बनाउन दुई रनले चुकेका गुल्सनले नेपालको स्कोर उकास्न महत्त्वपूर्ण योगदान दिए ।

ओपनर अर्जुन कुमालले ५४ बलमा २३ र बसिर अहमदले ५७ बलमा ३० रन बनाए । त्यसपछि ब्याटिङमा आएका आशिफ शेख चार रनमा र इशान पाण्डे शून्यमा आउट भए । कप्तान सन्दीप लामिछानेले दुई रन जोड्दा करण केसीले चार रन बनाए । नन्दन यादव र ललित राजवंशीले समान दुई रन बनाए ।

नेपाललाई ठूलो स्कोर बनाउन नदिन क्यानडाका अखिल कुमारले चार विकेट लिए । सुखजिन्दर सिंहले तीन तथा जाहिद शिरजादले दुई विकेट हात पारे ।

नेपालले जारी शृंखलामा क्यानडा र ओमानसँग दुई–दुई खेल खेल्ने तालिका छ । लिग–२ को शीर्ष चार टोलीले सन् २०२७ मा हुने एकदिवसीय विश्वकप छनोट प्रतियोगितामा स्थान बनाउनेछन् ।

क्यानडालाई हराएसँगै नेपाल ३३ खेलबाट २६ अंक जोड्दै अंक तालिकाको छैटौँ स्थानमा उक्लिएको छ । ३४ खेलबाट २५ अंक रहेको क्यानडा सातौँ स्थानमा झरेको छ । ओमानले २९ खेलबाट ३३ अंक जोडेको छ भने नामिबियाको ३५ खेलबाट ३१ अंक छ । यूएईले ३१ खेलबाट १९ अंक बनाएको छ ।

अंक तालिकामा अमेरिका ३४ खेलबाट ४७ अंकसहित शीर्ष स्थानमा रहँदै च्याम्पियन बनिसकेको छ । स्कटल्यान्डले ३६ खेलबाट ४५ र नेदरल्यान्ड्सले ३२ खेलबाट ३८ अंक जोडेका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×