बाढीपहिरोले पाँच जिल्लाका राजमार्ग प्रभावित

Share this
680shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असोज २६, सोमबार ०८:३५

काठमाडौं । बाढी र पहिरोका कारण देशका पाँच जिल्लाका मुख्य सडकखण्ड प्रभावित भएका छन् । नेपाल प्रहरीले सोमबार बिहान ६ बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै एक सडकखण्ड पूर्ण रूपमा अवरुद्ध रहेको र अन्य चार जिल्लाका सडकमा एकतर्फी यातायात सञ्चालन भइरहेको जनाएको छ ।

प्रहरीका अनुसार गण्डकी प्रदेशअन्तर्गत गोरखाको आरुघाट गाउँपालिका–२ र ३ तथा वडा नम्बर ९ को नयाँपुल क्षेत्रमा बाढीले सडकमा क्षति पुर्‍याएको छ । असोज २५ गते बिहान ५:३० बजे आएको बाढीले सोतीस्थित फलामे पुलमा क्षति पुर्‍याएपछि आरुघाटबाट धादिङ जोड्ने सडक पूर्ण रूपमा अवरुद्ध भएको हो ।

गण्डकी प्रदेशकै म्याग्दीमा बेनी–जोमसोम सडकखण्ड एकतर्फी रूपमा सञ्चालनमा आएको छ । रघुगंगा गाउँपालिका–२ बैसरीमा असोज १० गते बिहान ५:५० बजे खसेको पहिरोका कारण उक्त सडक प्रभावित भएको थियो ।

त्यस्तै, नवलपरासी (पूर्व) को बौदीकाली गाउँपालिका–३ स्थित जन्ती पहिरो क्षेत्रमा खसेको पहिरोले कालीगण्डकी करिडोर प्रभावित बनेको छ । असोज १४ गते बेलुका ४:४५ बजेदेखि प्रभावित उक्त सडक अहिले एकतर्फी रूपमा सञ्चालनमा रहे पनि ठूला सवारीसाधन आवतजावत गर्न नसक्ने प्रहरीले जनाएको छ ।

मनाङमा पनि बाढीका कारण सडक प्रभावित भएको छ । असोज ८ गते दिउँसो ४ बजे आएको बाढीले बेँसीसहर हुँदै खाङ्सारसम्म जाने सडकमा क्षति पुर्‍याएको थियो । उक्त सडकखण्डमा अहिले एकतर्फी रूपमा यातायात सञ्चालन भइरहेको छ ।

यसैगरी, बागमती प्रदेशअन्तर्गत धादिङको धुनिबेंसी नगरपालिका-९ खत्रीपौवामा पहिरो खस्दा त्रिभुवन राजपथ प्रभावित भएको छ । असोज २१ गते राति ९:५० बजे खसेको पहिरोका कारण अवरुद्ध भएको उक्त राजमार्ग अहिले एकतर्फी रूपमा सञ्चालनमा आएको नेपाल प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.