जो सहरमा ‘दसैँको स्वाद’ पुर्याउँछन्

Share this
758shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन २६, सोमबार ०९:३०

बझाङ । घरमा आमा हुनुहुन्छ । परिवार छ, आफन्त छन् । दसैँमा आमाको हातबाट टीका र जमरा लगाउने, तिहारमा दाजुभाइ तथा दिदीबहिनीसँग खुसी साट्ने रहर पनि छ । तर बझाङको साइपाल गाउँपालिकाका घुरनबहादुर बोहराका लागि चाडपर्व घर फर्किने समय होइन, व्यापारका लागि घर छाड्ने समय हो ।

घुरन भेडा च्याङ्ग्राको बथान लिएर पोखरा र काठमाडौं पुग्छन् । सहरका भान्सामा हिमालका भेडा च्याङ्ग्राको मासु पाकिरहँदा उनी भने आफ्नै घरमा आमाको हातबाट टीका थाप्न र परिवारसँगै बसेर दसैँ मनाउन पाउँदैनन् । घुरनजस्ता व्यापारीको श्रमले सहरको चाडलाई स्वाद दिन्छ, तर त्यही व्यापारले उनीहरूलाई आफ्नै चाडको खुसीबाट टाढा राख्छ ।

साइपाल गाउँपालिका–१ धलौनका घुरनबहादुरले आमाको हातबाट दसैँको टीका नथापेको १५ वर्षभन्दा बढी भइसक्यो । भेडा च्याङ्ग्राको व्यापार उनको आम्दानीको महत्त्वपूर्ण स्रोत हो । त्यसैले चाडपर्वमा घर फर्किने रहर हुँदाहुँदै पनि व्यापारको जिम्मेवारीले उनलाई बजारतिर डोर्‍याउँछ । आमाको आशीर्वाद फोनबाटै लिनुपर्छ। सन्तानलाई दसैँको शुभकामना पनि फोनबाटै दिनुपर्छ ।

‘घरको एक्लो छोरो, त्यो पनि घर नहुँदा आमालाई दसैँ आएजस्तो नै लाग्दैन। परिवारको मुख्य व्यक्ति नहुँदा चाडपर्व टाढिएकै जाती भन्छन्,’ घुरन सुनाउँछन् । साइपाल गाउँपालिका–२ धलौनका उज्ज्वल बोहराको अनुभव पनि उस्तै छ । उनले पनि डेढ दशकदेखि दसैँ–तिहार परिवारसँग बसेर मनाउन पाएका छैनन् । दसैँ बाटोमै बित्छ, तिहार सहरको व्यस्ततामै सकिन्छ ।

‘वर्षभरिको आम्दानी हुने चाडबाडको बेला दसैँ सम्झेर घरमै बस्न सकिँदैन । परिवारलाई सम्झनुपर्छ र बाटो लाग्नुपर्छ,’ उज्ज्वल भन्छन् । घुरन, उज्ज्वल, राजेन्द्र र सुरेन्द्रजस्ता व्यापारी तथा सहयोगी साइपालमा सय जनाभन्दा बढी छन् । साइपालबाट भेडाच्याङ्ग्रा लिएर पोखरा र काठमाडौं जानेको सङ्ख्या डेढ सयभन्दा बढी हुन्छ । ट्रक चालकहरू बजार पुगेको भोलिपल्टै फर्किए पनि भेडा च्याङ्ग्राका साहु र सहयोगीलाई बिक्री गर्न समय लाग्छ। यही व्यस्तताका बीच उनीहरूको दसैँ–तिहार बित्छ ।

‘बीचमा कसैले टीका लगाइदिएमा कानमा जमरा सिउरिएर पर्व मनाएको अनुभूति गर्न पाइन्छ,’ साइपाल–१ का रमेश धामी भन्छन्, ‘नत्र निधारमा टीका र कानमा जमरा नलगाई चाड बित्छ। परिवारसँगको भेटघाट र सामूहिक खुसी व्यापारको व्यस्तताले टाढा पुर्‍याउँछ ।’

सहयोगीबाट व्यापारीसम्म

साइपालबाट व्यावसायिक रूपमा भेडाच्याङ्ग्रा पोखरा पठाउन थालिएको २०६८ सालदेखि हो। त्यसअघि साइपालका युवा मुगु, हुम्ला र जुम्लाका व्यापारीसँग सहयोगीका रूपमा पोखरा जाने गर्थे । स्थानीय भेडाच्याङ्ग्रा खरिद गर्न आउने व्यापारीले पशुको हेरचाह र ढुवानीमा सघाउने मानिस खोज्थे । घुरनबहादुरले पनि २०६४ सालमा सहयोगीका रूपमा पोखरा पुगेर यो व्यवसायको अनुभव बटुलेका थिए ।

‘म सुरुमा २०६४ सालमा सहयोगीको रूपमा पोखरा पुगेको थिएँ,’ उनी भन्छन्, ‘मुगु, हुम्ला, जुम्लाका व्यापारी हाम्रै भेडाच्याङ्ग्रा किन्न आउँथे । भेडासँगै सहयोगी पनि खोज्थे। उनीहरूसँग आफ्नै भेडा च्याङ्ग्राका सहयोगी भएर गन्तव्यमा पुग्थ्यौँ। साहुले काम गरेको पैसा दिन्थे र फर्किन्थ्यौँ ।’

सहयोगीका रूपमा काम गर्दा पशु खरिद, ढुवानी र बिक्रीको अनुभव हासिल गरेको उनी बताउँछन् । चार वर्षसम्मको अनुभवपछि उनले आफ्नै समूह बनाएर व्यावसायिक रूपमा भेडा च्याङ्ग्राको व्यापार सुरु गरे । ‘सुरुको वर्ष कर्णालीका विभिन्न जिल्ला हुँदै पोखरा भेडा हिँडाएर पुर्‍यायौँ । त्यो बेलामा बेच्दै हिँड्दै गर्‍यौँ। ठ्याक्कै एक महिना लागेको थियो,’ उनी सम्झन्छन् ।

पहिले पशु हिँडाएरै लामो दूरी पार गर्नुपर्ने अवस्था थियो । अहिले भने ट्रकमा ढुवानी गरिन्छ । यसले यात्रा केही सहज बनाए पनि पशुको हेरचाह, चरिचरन र ढुवानी व्यवस्थापनका चुनौती भने कायमै छन् । उच्च हिमाली क्षेत्रमा जडीबुटी र प्राकृतिक घाँस खाएर हुर्किएका भेडा च्याङ्ग्राको मासु पोखरामा विस्तारै लोकप्रिय हुँदै गएको व्यापारीको अनुभव छ । सोही ठाउँका व्यापारी राजेन्द्रबहादुर धामीका अनुसार पोखराबाट सुरु भएको बजार अहिले काठमाडौंसम्म फैलिएको छ ।

‘पोखराबाट सुरु भएको बजार काठमाडौंसम्म फैलिएको छ । ग्राहक बढेसँगै कतिपयले व्यापारी पुग्न ढिला भए पनि प्रतीक्षा गर्ने गरेका छन्,’ उनी भन्छन् । भेडा च्याङ्ग्राको बजार विस्तारले हिमाली क्षेत्रका पशुपालक र व्यापारीका लागि नयाँ सम्भावना खोलेको छ । गाउँमा पालिएका पशु स्थानीय बजारमा मात्र सीमित नरही टाढाका उपभोक्तासम्म पुग्न थालेका छन् । तर, बजार विस्तारसँगै व्यापारीले बेहोर्नुपर्ने खर्च, जोखिम र व्यक्तिगत त्याग पनि कम छैन ।

उपभोक्ताको हातमा नपुगुन्जेल दुःखैदुःख

बझाङबाट पोखरा भेडाच्याङ्ग्रा पुर्‍याउन सामान्य अवस्थामा पाँच दिन लाग्छ । कतिपय अवस्थामा एक सातासम्म बाटोमै बित्छ । पशुलाई दिनभर गाडीमा राखेर लैजान सकिँदैन । बिहानदेखि दिनभर नजिकका वन तथा चरन क्षेत्रमा चराउनुपर्छ । साँझ परेपछि मात्र गाडीमा लोड गरेर यात्रा अघि बढाइन्छ । ठूलो सङ्ख्यामा पशु ल्याउँदा यो व्यवस्थापन थप चुनौतीपूर्ण हुने व्यापारी बताउँछन् ।

व्यापारीका अनुसार यस वर्ष साइपाल गाउँपालिकाबाट मात्र ३८ ट्रक भेडाच्याङ्ग्रा पोखरा र काठमाडौंका लागि पठाइएको छ । गत वर्ष यस्तो सङ्ख्या २८ ट्रक थियो। जिल्लाभरबाट भने करिब ६० ट्रकबराबर भेडाच्याङ्ग्रा पोखरा निर्यात हुने गरेको छ । एउटा ट्रकमा औसतमा ६५ वटा भेडाच्याङ्ग्रा अटाउने व्यापारीको विवरण छ । यस हिसाबले साइपालबाट यस वर्ष पठाइएका ३८ ट्रकमा औसत क्षमताअनुसार करिब दुई हजार ४७० वटा भेडाच्याङ्ग्रा ढुवानी भएका छन् ।

गाउँपालिकाले भेडाच्याङ्ग्रा निर्यातबापत प्रतिगोटा १०० रुपैयाँका दरले राजस्व सङ्कलन गर्ने गरेको छ । साइपाल गाउँपालिकाका नायब प्राविधिक सहायक सुमन सिंहका अनुसार गाउँपालिकाको कार्यपालिकाको निर्णयअनुसार उक्त राजस्व सङ्कलन हुँदै आएको छ । ‘पालिकाको कार्यपालिकाको निर्णयअनुसार राजस्वबापत प्रतिगोटा १०० रुपैयाँका दरले सङ्कलन गरेका छौँ,’ सिंहले भने ।

उनका अनुसार बझाङका सुर्मा, छविसपाथिभेरा, बुङ्गल नगरपालिका, मस्टा, साइपाल र तलकोट गाउँपालिकाले पनि यसरी नै राजस्व सङ्कलन गर्ने गरेका छन् । भेडा च्याङ्ग्राको सङ्ख्या यकिन गरेपछि पालिकाको सिफारिससहित आवश्यक कागजात तयार पारेर निर्यात गर्ने गरिएको उनले बताए ।

एउटा पशुमा पाँच हजारसम्म अतिरिक्त खर्च

साइपाल गाउँपालिकाका पूर्वअध्यक्ष राजेन्द्र धामीका अनुसार एउटा भेडा च्याङ्ग्रालाई बजारसम्म पुर्‍याउँदा पाँच हजार रुपैयाँसम्म अतिरिक्त खर्च हुन्छ । गाउँमै एउटा भेडाच्याङ्ग्रा खरिद गर्न २५ हजारदेखि ३० हजार रुपैयाँसम्म लगानी गर्नुपर्ने उनी बताउँछन् । खरिदपछि ढुवानी, चरिचरन, खाना, जनशक्ति र बाटोका अन्य खर्च थपिन्छन् ।

‘२५–३० हजारसम्ममा भेडाच्याङ्ग्रा खरिद गर्नुपर्छ,’ धामी भन्छन्, ‘तर बजारमा कहिलेकाहीँ राम्रो मूल्य नपाउँदा निकै घाटा व्यहोर्नुपर्ने हुन्छ ।’ धेरै पशु एकैपटक खरिद गर्ने व्यापारीले ठूलो रकम लगानी गर्नुपर्छ । बजारसम्म पुग्दा थप खर्च भइसकेको हुन्छ, तर बिक्री मूल्यको सुनिश्चितता हुँदैन । अपेक्षित मूल्य नपाएमा लगानी उठाउनसमेत कठिन हुने गरेको धामी बताउँछन् ।

व्यापारमा आर्थिक जोखिमसँगै उपभोक्ताको धारणा पनि चुनौती बन्ने गरेको छ । धामीका अनुसार अघिल्लो वर्ष बझाङबाट लगिएका च्याङ्ग्रा वास्तविक नभएको भन्ने अफवाह फैलिएपछि बजार प्रभावित भएको थियो । त्यसपछि व्यापारीले लिलामी गरेजस्तै गरी पशु बेचेर फर्किनुपरेको उनले सुनाए ।

लामो दूरीको यात्रा गर्दा व्यापारीले आर्थिक जोखिम मात्र होइन, सामाजिक र व्यावहारिक कठिनाइ पनि भोग्छन् । बाटोमा पशु चराउन स्थानीयसँग अनुमति लिनुपर्छ । कतिपय ठाउँमा चरन प्रयोग गरेबापत रकमसमेत तिर्नुपर्छ। तर, पैसा तिरेपछि पनि सहज व्यवहार नपाइने व्यापारीको गुनासो छ । ‘चराउन नपाए भेडाच्याङ्ग्रा बाटोमै मर्छन् । कतै बिरामी हुन्छन् । त्यस्तो अवस्थामा सबै नोक्सान हुन्छ । बाटोमा चरिचरन गर्दा स्थानीयबाट अपमान सहनुपर्छ, गाली सहनुपर्छ,’ धामी भन्छन्।

ढुवानीका क्रममा सुरक्षा निकायबाट पनि विभिन्न झन्झट बेहोर्नुपरेको व्यापारीको गुनासो छ । सबै प्रक्रिया पूरा गरेर हिँडे पनि बाटोमा कागजात, लाइसेन्स वा बिलबुकमा त्रुटि देखाउँदै अनावश्यक झमेलामा पार्ने गरिएको घुरन बताउँछन् । ‘हामी जिल्लाबाट बाहिर जाँदा सबै कागजात तयार गरेर मात्रै जान्छौँ। तर, बीचमा सुरक्षा निकायले कतै कागजात नपुगेको, लाइसेन्स वा बिलबुकसम्बन्धी कतै न कतै खोट देखाएर झमेलामा अल्झाउँछन्,’ उनले भने ।

स्वास्थ्य परीक्षणपछि मात्र निर्यात

ठूलो सङ्ख्यामा भेडाच्याङ्ग्रा एक ठाउँबाट अर्को ठाउँमा लैजाँदा पशुको स्वास्थ्यमा विशेष ध्यान दिनुपर्छ । लामो दूरीको ढुवानी र विभिन्न स्थानमा पशुको जमघट हुँदा सङ्क्रमण तथा रोग फैलिने जोखिम हुने भएकाले स्वास्थ्य परीक्षण गरेर मात्र निर्यात गर्ने गरिएको छ । पशु चिकित्सक डा. रवि थारूका अनुसार जिल्लाबाट भेडाच्याङ्ग्रा पठाउनुअघि तिनको स्वास्थ्य परीक्षण गरिन्छ । आवश्यक परे प्राथमिक उपचारका लागि औषधिको व्यवस्था गर्नुका साथै व्यवसायीले पूरा गर्नुपर्ने कागजात पनि जाँच गरिन्छ ।

‘यति ठूलो मात्रामा पठाउँदा बिनापरीक्षण पठाएमा कुनै सङ्क्रमण वा रोग फैलन सक्छ,’ थारू भन्छन्, ‘त्यसैले पशुको परीक्षण, प्राथमिक उपचारका लागि औषधि, व्यवसायीसँग आवश्यक कागजात सबै पूरा गरेपछि मात्रै पठाउँछौँ ।’ स्वास्थ्य परीक्षणले सम्भावित रोगको जोखिम कम गर्न र उपभोक्तासम्म स्वस्थ पशु पुर्‍याउन सहयोग गर्ने उनले बताए ।

साइपालका व्यापारीका लागि भेडा च्याङ्ग्राको व्यापार आम्दानीको माध्यम मात्र होइन, हिमाली क्षेत्रको उत्पादनलाई देशका ठूला बजारसम्म पुर्‍याउने काम पनि हो । तर, सहरमा दसैँको स्वाद पुर्‍याउन हिँड्ने उनीहरूका आफ्नै चाडपर्व भने बाटो, व्यापार र पशुको हेरचाहमै बित्छन् । आमाको हातबाट टीका थाप्ने र परिवारसँग बसेर खुसी साट्ने रहरलाई फोनको कुराकानीमै सीमित गर्नुपर्ने उनीहरूको बाध्यता छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×