
काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्र र राष्ट्रिय स्वाधीनतामाथि संकट उत्पन्न भएको दाबी गर्दै त्यसविरुद्ध आन्दोलनमा उत्रिनुपर्ने बताएका छन् । उनले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै दमनको प्रतिवाद गर्न पार्टी नेता तथा कार्यकर्तालाई तयार रहन निर्देशन दिएका छन् ।
पार्टीको केन्द्रीय कमिटीमा नवमनोनित सदस्यहरूको शपथ ग्रहण कार्यक्रममा सम्बोधन गर्दै ओलीले लोकतन्त्र कमजोर बनाइएको र राष्ट्रिय अस्मितामाथि प्रहार भएको आरोप लगाए । उनका अनुसार बल प्रयोग गरेर जनताको आवाज दबाउने प्रयास भए त्यसको प्रतिवाद गर्नु राजनीतिक आन्दोलनको स्वाभाविक प्रक्रिया हो ।
ओलीले आन्दोलनलाई लुटपाट र आगजनीसँग जोड्न नहुने स्पष्ट पारे । संगठित शक्तिले असंगठित र निरस्त्र जनतामाथि गर्ने दमनविरुद्ध उभिनु नै आन्दोलनको अर्थ भएको उनको भनाइ थियो । विगतमा पनि एमालेले यस्ता परिस्थितिको सामना गरेको उल्लेख गर्दै उनले फेरि संघर्ष गर्नुपर्ने अवस्था आउन सक्ने बताए ।
एमालेविरुद्ध राजनीतिक घेराबन्दी र षड्यन्त्र भइरहेको आरोप लगाउँदै ओलीले सामाजिक सञ्जाललाई समेत चरित्र हत्या गर्ने माध्यम बनाइएको दाबी गरे । सामाजिक सञ्जालमार्फत पार्टी र नेतृत्वलाई जनताको नजरमा गिराउने प्रयास भइरहेको उनको आरोप थियो ।
उनले २०७७ सालदेखि नै एमाले कब्जा गरेर कमजोर बनाउने योजना सुरु भएको दाबी गरे । २०७८ सालमा पार्टी विभाजन भएको र २०७९ सालको निर्वाचनमा विभिन्न राजनीतिक शक्तिहरू एमालेविरुद्ध एकजुट भएको प्रसंग उल्लेख गर्दै ओलीले पार्टीविरुद्धको घेराबन्दी अझै समाप्त नभएको बताए ।
गत निर्वाचनमा विपक्षीका सबै रणनीति र षड्यन्त्रलाई चिर्न नसक्दा पार्टी केही पछाडि परेको ओलीले स्वीकार गरे । अब भने त्यस्ता प्रयासलाई सफल हुन नदिन नेता तथा कार्यकर्तालाई सक्रिय भूमिका निर्वाह गर्न उनले निर्देशन दिए ।
समाजवादी आन्दोलन समाप्त पार्ने सोच राख्नेहरूलाई मूर्खको संज्ञा दिँदै ओलीले कम्युनिस्ट आन्दोलन सत्य, न्याय र मानवतावादमा आधारित रहेको दाबी गरे । उनका अनुसार समाजवादी विचारलाई कमजोर बनाउने प्रयास सफल हुने छैन ।
नयाँ केन्द्रीय सदस्यहरूलाई पार्टीको आगामी भूमिकाबारे निर्देशन दिँदै ओलीले विगतको इतिहास र योगदानको भरमा मात्रै अब पार्टीमा टिक्न नसकिने बताए । पार्टीको जिम्मेवारीमा रहेकाहरूले वर्तमान परिस्थितिमा आफ्नो क्षमता र सक्रियता प्रमाणित गर्नुपर्ने उनको भनाइ थियो ।



















