
भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिका–१ स्थित कावा खोलाको किनारमा रहेको ऐतिहासिक धार्मिकस्थल महादेव थान संरक्षण र पूर्वाधार विकाससँगै धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको छ । प्राकृतिक सौन्दर्य, गुफा, देवीदेवताका मूर्ति र धार्मिक आस्थासँग जोडिएको यस स्थलमा पछिल्लो समय भक्तजनको आवागमन सहज बन्दै गएको छ ।
हतुवागढी, रामप्रसादराई र पौवादुङमा गाउँपालिकाको सङ्गमस्थलमा रहेको महादेव थान धार्मिक तथा पर्यटकीय सम्भावना बोकेको क्षेत्र हो । स्थानीय तहले यसको संरक्षण र आवश्यक पूर्वाधार निर्माणलाई प्राथमिकता दिएपछि स्थलको व्यवस्थापनमा सुधार आएको छ ।
हतुवागढी गाउँपालिकाले देवस्थल परिसरमा फलामको बारसहितको पदमार्ग निर्माण गर्नुका साथै आवतजावत सहज बनाउन सडक विस्तार गरेको छ । महादेव थान संरक्षण समिति गठन गरेर स्थलको संरक्षण, व्यवस्थापन र विकासका काम अघि बढाइएको गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले बताए ।
‘महादेव थान यहाँको महत्वपूर्ण धार्मिक तथा पर्यटकीय स्थल हो,’ अध्यक्ष राईले भने, ‘यस क्षेत्रको ऐतिहासिक, धार्मिक र सांस्कृतिक महत्व जोगाउँदै आवश्यक पूर्वाधार विकासमा काम गरिरहेका छौँ । संरक्षणका काम अघि बढेपछि यहाँ आउने भक्तजनलाई पनि सहज भएको छ ।’
विभिन्न कारणले लामो समयदेखि रोकिएको यहाँको मेला स्थानीयवासीको पहलमा पछिल्लो समय पुनः सञ्चालन गरिएको छ । गाउँपालिकाले २०८० सालदेखि पूजापाठ तथा सद्बीज छर्ने कार्यक्रम सुरु गरेपछि यहाँको धार्मिक गतिविधि थप सक्रिय बनेको हो । विशेषगरी बालाचतुर्दशीका अवसरमा महादेव थानमा मेला लाग्ने, पूजापाठ हुने तथा भजनकीर्तन गरिने गरेको छ ।
गुफासहितको प्राकृतिक बनावटले महादेव थानलाई थप आकर्षक बनाएको स्थानीयवासी लालबहादुर प्रधानले बताए । यहाँ दर्शन गरे मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वासका कारण विभिन्न स्थानबाट भक्तजन आउने गरेको उनको भनाइ छ ।
महादेव थान परिसरमा गुफासँगै विभिन्न देवीदेवताका मूर्ति छन् । धार्मिक आस्था र प्राकृतिक सुन्दरताको संयोजनले यस क्षेत्रलाई पर्यटकीय दृष्टिले पनि महत्वपूर्ण बनाएको हतुवागढी गाउँपालिका–१ का वडाध्यक्ष कुमार विष्टले बताए ।
वडा तथा गाउँपालिकाको पहलमा देवस्थलको संरक्षण र पूर्वाधार विकासका काम अघि बढिरहेको उनले जानकारी दिए । धार्मिक तथा ऐतिहासिक महत्व बोकेको यस क्षेत्रलाई व्यवस्थित रूपमा विकास गर्न सके स्थानीय क्षेत्रको पहिचान स्थापित हुनुका साथै आन्तरिक पर्यटकको आवागमन बढाउन सहयोग पुग्ने उनको भनाइ छ ।



















