दसैँका लागि बजारमा लेकाली भेडाच्याङ्ग्रा

Share this
731shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असोज २७, मंगलबार ०८:४५

कास्की । दसैँलाई लक्षित गरी पोखरामा १४ हजार ८०० भेडाच्याङ्ग्रा भित्रिएका छन् । मुस्ताङसहित दार्चुला, बझाङ, बाजुरा र डोल्पाबाट व्यापारीले बिक्रीका लागि भेडाच्याङ्ग्रा ल्याएका हुन् ।

पोखरा महानगरपालिका–१ सिमपानी र वडा नम्बर २५ हेमजामा भेडाच्याङ्ग्राको हाटबजार सञ्चालनमा छ । पोखरा महानगरपालिकाको पशु सेवा शाखाका पशु चिकित्सक नवराज अधिकारीका अनुसार मुस्ताङबाट नौ हजार, दार्चुलाबाट दुई हजार, बझाङबाट एक हजार ८०० तथा बाजुरा र डोल्पाबाट एक–एक हजार भेडाच्याङ्ग्रा पोखरा ल्याइसकिएको छ ।

अझै केही भेडाच्याङ्ग्रा बाटोमै रहेकाले फूलपातीभन्दा एक–दुई दिनअघि सम्म बजारमा आइपुग्ने उनले बताए । गण्डकी प्रदेशका अन्य जिल्लाबाट पनि स्थानीय भेडा बिक्रीका लागि पोखरा ल्याउने गरिन्छ ।

दसैँका लागि पोखरामा भेडाच्याङ्ग्रा आइसकेको उनले बताए । कतिपय व्यापारीले हाटबजारमा ल्याइसकेका छन् भने धेरैले पोखरावरपरका चरन क्षेत्रमा राखेको उल्लेख गर्दै अधिकारीले ती भेडाच्याङ्ग्रा एक–दुई दिनमा हाटबजारमा ल्याउने बताए ।

यसैबीच, पशु सेवा शाखा, भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय कास्की र पशु क्वारेन्टाइन कार्यालय पोखराको संयुक्त टोलीले भेडाच्याङ्ग्राको स्वास्थ्य अवस्था र बिक्री वितरणको अनुगमन सुरु गरेको छ ।

अनुगमनका क्रममा अधिकांश भेडाच्याङ्ग्रा स्वस्थ पाइएको टोलीले जनाएको छ। फूलपातीसम्म अनुगमनलाई निरन्तरता दिइने जनाइएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.