
विराटनगर । आईएसएफ फुटबल विश्वकपको २९ औँ संस्करणमा सहभागी हुन २० खेलाडीसहित २९ सदस्यीय नेपाली टोली शुक्रबार चीन प्रस्थान गर्ने भएको छ । प्रतियोगिता अक्टोबर १७ देखि २६ तारिखसम्म सञ्चालन हुनेछ ।
टोलीमा इभानरत्न तुलाधर, मानव सुब्बा, आरव श्रेष्ठ, अग्रीमजंग सिंह बस्नेत, साहिलराज थापा, प्रशान्त मेयाङ्बो, रिवाज गुरुङ, सगर्वबहादुर श्रेष्ठ, संयोग राई, सुयश पौडेल, अंशुमन केसी, भविष्य शाह, सिभान्स भट्टराई, आकृष्ट महत, कृशल थापा, कृष्णा गुरुङ, क्रियाश सापकोटा, तेन्जिङ शेर्पा, आइज्याक शाही र आर्गेन तुलाधर रहेका छन् । टोलीमा १६ देखि १८ वर्ष उमेर समूहका खेलाडी सहभागी छन् ।
टोलीको नेतृत्व अन्तर्राष्ट्रिय विद्यालय खेलकुद महासंघको कार्यकारी समितिका सदस्यसमेत रहेका विद्यालय खेलकुद महासंघ (आईएसएसएफ) का महासचिव राजकुमार कार्कीले गर्नेछन् । टोलीमा आईएसएसएफका अध्यक्ष विनोद श्रेष्ठ, रामकृष्ण महर्जन, पशुपति अधिकारी, भुवनलाल श्रेष्ठ, सोविनराज रेग्मी र सुमित भट्टराईसहितका पदाधिकारी सहभागी हुनेछन् । प्रशिक्षकमा थमन भुसाल र सन्तोष न्यौपाने रहेका छन् ।
महासचिव कार्कीका अनुसार छनोट प्रतियोगिताबाट खेलाडी चयन गरिएको हो । छनोट प्रक्रियामा ३७२ खेलाडी सहभागी भएका थिए। पहिलो चरणमा ४० खेलाडी छनोट गरी अन्तिम चरणमा २० खेलाडीलाई नेपाली टोलीमा समावेश गरिएको उनले जानकारी दिए ।
टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष विशाल श्रेष्ठ तथा राखेप सदस्य मोनालिसा खम्बूलगायतले बिदाइ गरेका छन् । नेपाली टोलीले चीनमा हुने विश्वकपमा प्रतिस्पर्धा गर्दै नेपालको प्रतिनिधित्व गर्नेछ ।



















