पूर्वराजा ज्ञानेन्द्रको चिन्ता : देशका सबै क्षेत्र अन्योलमा

Share this
690shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असोज ३०, शुक्रबार ०८:१२
हिमताल विस्फोटबाट भएको क्षतिप्रति पूर्वराजा ज्ञानेन्द्रद्वारा दुःख व्यक्त 

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले देशको वर्तमान राजनीतिक अस्थिरता, खस्कँदो आर्थिक–सामाजिक अवस्था र प्राकृतिक विपद्का कारण सर्वसाधारणले भोग्नुपरेको पीडाप्रति चिन्ता व्यक्त गरेका छन् ।

विजयादशमी २०८३ को अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीलाई शुभकामना सन्देश दिँदै उनले देशको राजनीतिक, संवैधानिक, न्यायिक, आर्थिक र प्रशासनिक क्षेत्र अन्योलमा रहेको बताएका हुन् ।

भोटेकोशी र बूढीगण्डकी क्षेत्रमा आएको भीषण बाढी तथा अविरल वर्षाका कारण ठूलो जनधनको क्षति भएको उल्लेख गर्दै पूर्वराजा शाहले विपद्का कारण उत्पन्न शोकलाई शक्तिमा बदलेर अघि बढ्नुपर्ने बताएका छन् ।

उनले क्षतिग्रस्त भौतिक संरचनाको शीघ्र पुनर्निर्माण र पीडितको तत्काल पुनःस्थापनालाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएका छन्। बाह्य सहयोग लिँदा राष्ट्रिय स्वाभिमान र स्थानीय परम्पराको संरक्षणमा समेत कूटनीतिक सजगता अपनाउनुपर्ने उनको भनाइ छ ।

देशको विद्यमान अन्योल अन्त्य गर्न प्रजातान्त्रिक विधि र प्रक्रियालाई सुदृढ बनाउनुपर्ने उल्लेख गर्दै उनले अर्थतन्त्र उकास्न सबै पक्ष गम्भीर हुनुपर्ने बताएका छन् ।

नयाँ पुस्ताले जिम्मेवारी लिएर देशमा आशा जगाउने विश्वास व्यक्त गर्दै पूर्वराजा शाहले विभाजित होइन, एकीकृत र परनिर्भर होइन, आत्मनिर्भर नेपाल निर्माणका लागि आह्वान गरेका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.