सिरानीछेउमा नयाँ लुगा राखेर दसैँ पर्खिएका ती दिन

Share this
719shares
मुलुकी खबर
विवेक केशरी प्रसाईं
clock२०८३ कार्तिक १, शनिबार ०९:२७

आज दसैँ सम्झिँदा मन फेरि बाल्यकालतिर फर्किन्छ । पुरानो बिर्तामोड, घरआँगनको चहलपहल, साथीभाइसँगको रमाइलो र नयाँ लुगा लगाउने दिनको प्रतीक्षा । सम्झनाका यी तस्बिर आँखाअगाडि यसरी नाच्न थाल्छन्, मानौँ ती दिनहरू भर्खरै बितेका हुन् ।

हाम्रो बाल्यकालमा दसैँ आउनु भनेको टीका लगाउनु, मीठो खानु र दक्षिणा पाउनु मात्र थिएन । दसैँको सबैभन्दा ठूलो आकर्षण नै नयाँ लुगा थियो ।

घटस्थापना सुरु हुनुभन्दा अघिदेखि नै मनमा एउटै प्रश्न खेलिरहन्थ्यो, ‘बुवाले मेरो नयाँ लुगा कहिले किनिदिनुहोला ?’

बजारबाट नयाँ कपडा घरमा ल्याएको दिनको खुसी नै बेग्लै हुन्थ्यो । कपडालाई पटकपटक छोएर हेरिन्थ्यो । शरीरमा राखेर ऐनाअगाडि उभिइन्थ्यो । दर्जीको पसलमा नाप दिन जाने दिन त आफूलाई ठूलै मान्छे भएको महसुस हुन्थ्यो ।

कपडा किनिएपछि दसैँको प्रतीक्षाले नयाँ मोड लिन्थ्यो । अब मनमा अर्को प्रश्न उब्जिन्थ्यो, ‘दाइ, मेरो लुगा सिलियो ?’

दर्जीको जवाफ प्रायः एउटै हुन्थ्यो, ‘भोलि आउनू ।’

तर त्यो भोलि कहिलेकाहीँ फूलपाती हुँदै अष्टमीसम्म पनि पुग्थ्यो । दर्जीको पसलअगाडि झुन्डिएका लुगाहरू नियाल्दै आफ्नो सर्ट र पाइन्ट खोज्नुको पनि छुट्टै रमाइलो थियो । अरूका लुगा सिलिएर तयार भएको देख्दा आफ्नो पालो कहिले आउला भन्ने हुटहुटी झन् बढ्थ्यो ।

बल्लबल्ल लुगा हात परेको दिन खुसीको सीमा नै हुँदैनथ्यो । घर पुगेर लगाएर हेरिन्थ्यो, ऐनामा आफूलाई नियालिन्थ्यो अनि फेरि फुकालेर जतनसाथ राखिन्थ्यो । टीकाको दिन नआउँदै मैलो होला कि भन्ने डरले नयाँ लुगा लगाउनसमेत मनले मान्दैनथ्यो ।

राति सुत्दा नयाँ लुगा सिरानीछेउमा राखिन्थ्यो । मनमा एउटै हुटहुटी हुन्थ्यो- बिहान कहिले होला र नयाँ लुगा लगाउन पाइएला ?

अन्ततः टीकाको बिहान आउँथ्यो । नुहाएर नयाँ सर्ट, पाइन्ट र जुत्ता लगाई घरबाट बाहिर निस्कँदा आफूलाई संसारकै सबैभन्दा भाग्यमानी मान्छे ठानिन्थ्यो । साथीभाइ भेट्दा एकअर्काको लुगा नियाल्ने, कसको राम्रो भनेर जिस्किने र नयाँ लुगा लगाएर गाउँभरि डुल्ने ती दिनहरूको आनन्द नै अर्कै थियो ।

आज फर्केर हेर्दा लाग्छ, हामीले त नयाँ लुगा पाउँदाको खुसी मात्र बुझ्यौँ । त्यो लुगा किनिदिन बुवाआमाले आफ्ना कति रहर थाती राख्नुभयो होला भन्ने कुरा त्यतिबेला कहिल्यै सोचेनौँ । हाम्रो अनुहारमा खुसी देख्न उहाँहरूले आफ्ना कति इच्छा चुपचाप दबाउनुभयो होला, त्यसको हिसाब हामीले कहिल्यै राखेनौँ ।

समय कति छिटो बितेछ ! आज दराजभरि लुगा छन् । बजारमा आफूलाई मन परेको कपडा रोजीरोजी किन्न सकिन्छ । न दर्जीको पसलमा पालो कुर्नुपर्छ, न दसैँ नै पर्खिनुपर्छ । तर कुनै बेला एउटा नयाँ सर्ट पाउँदा मनमा उर्लिने त्यो उत्साह आजका महँगा कपडामा भेटिँदैन ।

अहिले दसैँ आउँदा नयाँ लुगाभन्दा बढी पुराना दिनहरूको सम्झना आउँछ । बुवाको अनुहार सम्झिन्छु, मुवाको माया सम्झिन्छु । पुरानो बिर्तामोडका गल्लीहरू, दर्जीको पसल र साथीहरूसँग बिताएका ती रमाइला क्षणहरू सम्झिन्छु ।

सायद खुसी लुगाको मूल्यमा होइन, त्यसलाई पर्खिने हाम्रो निर्दोष मनमा रहेछ । कुनै बेला दसैँ आउनुअघि नै मनमा जुन उत्साह पलाउँथ्यो, त्यो उत्साह नयाँ लुगामा मात्र सीमित थिएन । त्यसमा बालापनको उमङ्ग थियो, परिवारको न्यानोपन थियो र साना कुरामै संसार भेट्ने एउटा निर्दोष उमेर थियो ।

कहिलेकाहीँ लाग्छ, फेरि एकपटक त्यही बाल्यकालमा फर्किन पाए ! बुवासँग नयाँ लुगाका लागि जिद्दी गर्न पाएँ ! मुवालाई नयाँ सर्ट लगाएर देखाउन पाएँ ! अनि टीकाको बिहान नयाँ लुगा सिरानीछेउमा राखेर निदाउन नसकेको त्यो रात फेरि एकपटक बाँच्न पाएँ !

समय कहाँ फर्किँदो रहेछ र ! दसैँ हरेक वर्ष आउँछ । नयाँ लुगा पनि किनिन्छ । टीका र जमरा पनि लगाइन्छ । घरआँगनमा चहलपहल पनि हुन्छ । तर बुवाआमाको मायाले सजिएको बाल्यकालको त्यो दसैँ अब सम्झनामा मात्र बाँकी छ ।

आज पनि मनको कुनै कुनामा नयाँ लुगा सिरानीछेउमा राखेर टीकाको बिहान पर्खिरहेको त्यो सानो बालक जीवितै छ । हरेक दसैँमा ऊ फेरि ब्युँझिन्छ र मलाई सम्झाइदिन्छ- जीवनका सबैभन्दा अमूल्य खुसीहरू महँगा हुँदैनन्, ती त समयसँगै सम्झनामा झन् बहुमूल्य बन्दै जाँदा रहेछन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×