सुनकोशीमा गाडी खस्दा ३ महिलाको मृत्यु, ३ बेपत्ता

Share this
732shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कार्तिक २, आइतबार ०७:४८
सुनकोशीमा गाडी खस्दा ३ महिलाको मृत्यु, ३ बेपत्ता

काठमाडौं । सिन्धुलीको फिक्कल गाउँपालिका–६ नागथानमा टाटा सुमो गाडी सुनकोशी नदीमा खस्दा तीन महिलाको मृत्यु भएको छ। दुर्घटनामा चालकसहित चार जना घाइते भएका छन् भने तीन जना बेपत्ता रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार आइतबार बिहान करिब २ः३० बजे काठमाडौंबाट खोटाङतर्फ जाँदै गरेको को १ ज २९७६ नम्बरको गाडी मध्यपहाडी लोकमार्गबाट करिब दुई सय मिटर तल सुनकोशी नदीमा खसेको हो ।

दुर्घटनाको सूचना पाएपछि रत्नावती र खाङसाङ प्रहरी चौकीबाट प्रहरी टोली घटनास्थल पुगेको थियो । घटनास्थलमा तीन महिलाको शव फेला परेको र चालकसहित चार जनालाई उद्धार गरी उपचारका लागि पठाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डीएसपी विजय श्रेष्ठले जानकारी दिए ।

घाइतेहरूको उदयपुरको घुर्मीस्थित जनसेवा हेल्थ सेन्टरमा उपचार भइरहेको छ । प्रहरीका अनुसार ओखलढुंगाका २९ वर्षीय चालक आशिष विष्ट बेहोस अवस्थामा छन् । खोटाङको दिक्तेल नगरपालिका–३ की ३८ वर्षीया सम्झना राईको अवस्था गम्भीर छ । उनकी १२ वर्षीया छोरी सिवानी राई र दिक्तेल नगरपालिका–१ का १३ वर्षीय अंकित विक बोल्न सक्ने अवस्थामा छन् ।

दुर्घटनापछि तीन जना बेपत्ता भएका छन् । उनीहरूको खोजीका लागि इलाका प्रहरी कार्यालय खुर्कोटबाट प्रहरी निरीक्षकको नेतृत्वमा थप टोली परिचालन गरिएको छ। प्रहरी र स्थानीयवासी खोज तथा उद्धार कार्यमा जुटेका छन् । दुर्घटना के कारणले भएको हो भन्ने खुल्न सकेको छैन। प्रहरीले बेपत्ताको खोजी जारी राख्दै घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×