सुमो दुर्घटनाः एक जना मृतकको पहिचान खुल्यो

Share this
736shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कार्तिक २, आइतबार ०९:४४
सुनकोशीमा गाडी खस्दा ३ महिलाको मृत्यु, ३ बेपत्ता

सिन्धुली । सिन्धुलीको सुनकोशी नदीमा सुमो खस्दा मृत्यु भएकामध्ये एक जनाको पहिचान खुलेको छ । मृत्यु हुनेमा खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङकी २१ वर्षीया युपना राई रहेकी छन्। अन्य मृतकको पहिचान खुल्न बाँकी छ ।

काठमाडौंबाट खोटाङतर्फ आउँदै गरेको को १ ज २९७६ नम्बरको सुमो आइतबार बिहान करिब २ः३० बजे फिक्कल गाउँपालिका–६ नागथानस्थित मध्यपहाडी लोकमार्गबाट करिब १५० मिटर तल सुनकोसी नदीमा खसेको थियो ।

जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक प्रकाश बुढाथोकीका अनुसार दुर्घटनामा बेपत्ता भएका व्यक्तिको नामठेगाना खुलेको छैन । बेपत्ताको खोजीका लागि गोताखोरसहितको टोली परिचालन गरिएको छ ।

दुर्घटनामा चालकसहित चार जना घाइते भएका छन् । घाइते हुनेमा ओखलढुंगाको सिद्धिचरण नगरपालिका–२ का २९ वर्षीय चालक आशिष विश्वकर्मा, खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–३ की ३८ वर्षीया सम्झना राई, उनकी १२ वर्षीया छोरी शिवानी राई र दिक्तेलका १३ वर्षीय अंकित विश्वकर्मा छन् ।

घाइतेमध्ये चालक आशिष बेहोस छन् भने सम्झनाको अवस्था गम्भीर छ। उनलाई हेलिकोप्टरमार्फत काठमाडौं लैजाने तयारी भइरहेको जनाइएको छ । अन्य घाइतेको सिन्धुली जिल्ला अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी निराजन बस्नेतले जानकारी दिए।

प्रहरीका अनुसार सुमोमा १० जना सवार थिए । राति ११ बजे काठमाडौंबाट खोटाङतर्फ हिँडेको गाडी चालक निदाएका कारण दुर्घटनामा परेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×