महागौरी देवीको पूजा आराधना गरिँदै, शक्तिपीठमा भक्तजनको भीड

Share this
758shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कार्तिक २, आइतबार ०७:०२

विराटनगर । बडादसैँ एवं नवरात्रको आठौँ  दिन आज (आइतबार) दसैँ घर तथा पूजा कोठामा नवदुर्गामध्ये आठौँ स्वरूप महागौरी देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ। आश्विन शुक्ल अष्टमीका दिन महागौरीको पूजा गरेमा सुख, शान्ति, समृद्धि र मनोकामना पूरा हुने धार्मिक विश्वास छ।

वैदिक सनातन परम्पराअनुसार प्रत्येक वर्ष दुर्गा पक्षको आठौँ दिन महागौरी देवीको विशेष पूजा आराधना गर्ने गरिन्छ। पुराणहरूमा उल्लेख भएअनुसार महागौरीको वर्ण पहिले कालो थियो। भगवान् शिवले ठट्टामा ‘ए काली’ भनेपछि असन्तुष्ट भएकी देवीले कठोर तपस्या गरी गौर वर्ण प्राप्त गरेकाले उनको नाम महागौरी रहन गएको धार्मिक मान्यता छ।

महागौरीलाई सेतो वृषभमाथि सवार, गोरो वर्ण भएकी र श्वेत वस्त्र धारण गरेकी देवीका रूपमा वर्णन गरिएको छ। नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य, विद्या र सुख प्राप्त हुने विश्वासका साथ भक्तजनले श्रद्धापूर्वक पूजा गर्ने गर्छन्।

नवरात्रको पहिलो दिन असोज २५ गते घटस्थापना गरी दसैँ घर तथा पूजा कोठामा जौको जमरा राखिएको थियो। घटस्थापनाकै दिन नवदुर्गामध्ये पहिलो स्वरूप शैलपुत्रीको पूजा आराधना गरिएको थियो। त्यसपछि क्रमशः दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी र सातौँ दिन कालरात्रि देवीको पूजा गरिएको हो।

सातौँ दिन दसैँ घर तथा पूजा कोठामा विधिपूर्वक फूलपाती भित्र्याइएको थियो। आज आठौँ दिन महागौरीको पूजा आराधना गरिँदै छ भने नवौँ दिन सिद्धिदात्री देवीको पूजा गरिने परम्परा छ। यी नौ स्वरूपलाई सामूहिक रूपमा नवदुर्गा भनिन्छ।

नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थानमा दुर्गा सप्तशती ९चण्डी०, श्रीमद्देवीभागवतलगायत देवी स्तोत्रको पाठ गर्ने परम्परा छ। आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म देवीको विशेष आराधना गरिन्छ। नौ दिनसम्म गरिएको पूजाको प्रसाद स्वरूप टीका र जमरा विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म लगाउने चलन छ। यसरी नेपाली समाजमा बडादसैँ १५ दिनसम्म हर्षोल्लासका साथ मनाइन्छ।

नवरात्रका अवसरमा देशभरका शक्तिपीठ तथा देवी मन्दिरमा पूजाआजा र दर्शन गर्ने भक्तजनको भीड लाग्ने गरेको छ। दसैँको सातौँ दिनदेखि सार्वजनिक बिदा सुरु हुने भएकाले शक्तिपीठ तथा मन्दिरमा दर्शनार्थीको चहलपहल अझ बढ्ने गर्छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×