
एजेन्सी । भारतको पश्चिम बंगाल राज्यको राजधानी कोलकातामा दुर्गा पूजा पर्वका क्रममा भएको भागदौडमा कम्तीमा १९ जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् ।
अधिकारीहरूका अनुसार शनिबार राति वर्षा हुन थालेपछि दुर्गा पूजा मण्डप नजिक भेला भएका मानिसहरू ओत लाग्न दौडिएका थिए । त्यसक्रममा केही भक्तजन सडकमा लडेपछि भीड अनियन्त्रित बनेको र भागदौड मच्चिएको प्रहरीले जनाएको छ ।
घाइतेहरूको कोलकाता मेडिकल कलेज तथा अस्पतालमा उपचार भइरहेको छ । अस्पताल पुगेका मुख्यमन्त्री सुभेन्दु अधिकारीले घटनामा १९ जनाको मृत्यु भएको र २५ जनाको उपचार भइरहेको जानकारी दिए । उनले उच्च अदालतका न्यायाधीशको नेतृत्वमा विशेष अनुसन्धान टोली गठन गरी घटनाको छानबिन गरिने बताए ।
प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको छ। केही दुर्गा पूजा मण्डपका आयोजक, निजी सुरक्षाकर्मी र ड्युटीमा खटिएका कर्मचारीलाई हिरासतमा लिइएको छ । भीड व्यवस्थापन र सुरक्षा प्रबन्धमा कमजोरी भए–नभएकोबारे अनुसन्धान भइरहेको अधिकारीहरूले बताएका छन् ।
दुर्गा पूजा पर्वका लागि कोलकातामा स्थानीय रूपमा ‘पण्डाल’ भनिने करिब तीन हजार पाँच सय मण्डप निर्माण गरिएका छन् । घटनापछि अधिकारीहरूले अत्यधिक भीड हुने स्थलहरू अस्थायी रूपमा बन्द गर्न आयोजकहरूलाई सुझाव दिएका छन्। भारतमा ठूला धार्मिक पर्वका क्रममा भीड अनियन्त्रित हुँदा भागदौडका घटना हुँदै आएका छन् । यस्ता पर्वमा लाखौँ मानिस एकै ठाउँमा भेला हुने भएकाले सुरक्षा र भीड व्यवस्थापन चुनौतीपूर्ण बन्ने गरेको छ ।

























