
विराटनगर । मोरङको सुनवर्षी नगरपालिका–५ झुङ्गी टोलस्थित हुलाकी सडकमा दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् ।
दुर्घटनामा भारतको बीआर ३८ एच ३५०४ नम्बरको मोटरसाइकल चालक सुनवर्षी नगरपालिका–९ डाइनिया निवासी ४७ वर्षीय शिवकुमार मण्डलको मृत्यु भएको हो । उनको कोशी अस्पताल विराटनगरमा उपचारका क्रममा शनिबार राति १०:५० बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
शनिबार राति ८:४५ बजे रंगेलीबाट डाइनियातर्फ जाँदै गरेको भारतीय नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश १–०२–०४५ प ८९६६ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका थिए ।
दुर्घटनामा भारतीय नम्बरको मोटरसाइकलमा पछाडि सवार ६० वर्षीय रामविलास मण्डल घाइते भएका छन् । उनको निधार र दाहिने खुट्टामा चोट लागेको छ । उनलाई रंगेली अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि कोशी अस्पताल पठाइएको छ ।
त्यस्तै, अर्को मोटरसाइकलका चालक सुनवर्षी नगरपालिका–५ झुङ्गी टोलका २१ वर्षीय गणेशकुमार मण्डल घाइते भएका छन् । उनको दाहिने हात र दुवै खुट्टामा चोट लागेको छ । रंगेली अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि उनलाई विराटनगरस्थित नोबेल अस्पताल लगिएको छ ।
सोही मोटरसाइकलमा पछाडि सवार ३८ वर्षीय रूपेशकुमार मण्डलको निधारमा चोट लागेको थियो । सामान्य उपचारपछि उनी डिस्चार्ज भएर घर फर्किएका छन् । दुवै मोटरसाइकल इलाका प्रहरी कार्यालय रंगेलीको नियन्त्रणमा छन् ।

























