
विराटनगर । नेपाल प्रिमियर लिग (एनपीएल) को आगामी सिजनका लागि विराटनगर किंग्सले बागमती प्लास्टिक उद्योगसँग प्रायोजन सम्झौता गरेको छ। यस सहकार्यले टोलीको तयारी र प्रतियोगितामा सहभागितालाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।
विराटनगरस्थित होटल लेमन ट्रीमा आयोजित कार्यक्रममा बागमती प्लास्टिक उद्योगका तर्फबाट अमित राठी तथा विराटनगर किंग्सका तर्फबाट स्वागत प्याकुरेल र जयश जैनले सम्झौता पत्रमा हस्ताक्षर गरे ।
कार्यक्रममा विराटनगर किंग्सका सहमालिक पारस लुनियाले एनपीएलको तेस्रो सिजनलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले स्वीकृति दिएको जानकारी दिँदै यसलाई नेपाली क्रिकेटका लागि सकारात्मक उपलब्धि भएको बताए ।
एनपीएलको तेस्रो सिजनले नेपाली क्रिकेटको विकासमा योगदान पुर्याउनुका साथै खेलाडीलाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ । प्रतियोगिताले क्रिकेटप्रति दर्शकको आकर्षण बढाउन र नेपाली क्रिकेटलाई थप उचाइमा पुर्याउनसमेत सहयोग गर्ने विश्वास गरिएको छ ।
विराटनगर किंग्स र बागमती प्लास्टिक उद्योगबीचको सम्झौतालाई खेलकुद र निजी क्षेत्रबीचको सहकार्यका रूपमा हेरिएको छ । यस्तो सहकार्यले नेपाली क्रिकेटको व्यावसायिक विकास तथा टोलीको आगामी सिजनको तयारीमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।



















