
भोजपुर । नयाँ पुस्तामा परम्परागत सीपप्रति चासो घट्दै गएपछि भोजपुरका गाउँघरमा माटाका भाँडा बनाउने र प्रयोग गर्ने चलन हराउँदै जान थालेको छ । कुनै समय घरायसीदेखि धार्मिक तथा सांस्कृतिक कार्यसम्म प्रयोग हुने गाग्री, हाँडी, घैँटो र धुपौरो अहिले गाउँघरमा कमै देखिन थालेका छन् ।
सीप पुस्तान्तरण नहुँदा माटाका भाँडा बनाउने परम्परासँगै तिनको प्रयोग पनि घट्दै गएको हो । विगतमा दैनिक घरायसी कामदेखि विभिन्न धार्मिक तथा सांस्कृतिक गतिविधिमा माटाका भाँडाको प्रयोग हुने गरेको थियो । यी सामग्री गाउँघरको मौलिक परम्परा र पहिचानका रूपमा समेत स्थापित थिए ।
पछिल्लो समय माटाका भाँडाको स्थान प्लास्टिक र स्टिलका सामग्रीले लिन थालेका छन् । यससँगै परम्परागत रूपमा माटाका भाँडा बनाउने सीपसमेत हराउने अवस्थामा पुगेको छ ।
अरुण गाउँपालिका–७ का स्थानीय लक्ष्मीप्रसाद अधिकारीका अनुसार नयाँ पुस्तामा सीप हस्तान्तरण नहुँदा माटाका भाँडा बनाउने परम्परागत पेसा सङ्कटमा परेको छ । माटाका सामग्री बनाउन उपयुक्त माटो छनोट गर्ने, मुछ्ने, आकार दिने र प्रयोगयोग्य बनाउनेसम्मका विभिन्न प्रक्रिया पूरा गर्नुपर्छ ।
यसका लागि सीप, अनुभव र पर्याप्त समय चाहिने भएकाले नयाँ पुस्ता यो पेसाप्रति आकर्षित हुन नसकेको उनको बुझाइ छ । रामप्रसादराई गाउँपालिका–८ का रुपमान श्रेष्ठ माटाका सामग्रीको प्रयोग घट्दै जाँदा तिनलाई बनाउने सीपसँगै त्यसमा जोडिएको मौलिक संस्कृति पनि हराउने जोखिम बढेको बताउँछन् ।
उनका अनुसार स्थानीयस्तरमै सीप सिकाउने व्यवस्था गरी परम्परागत सामग्रीको महत्त्वबारे नयाँ पुस्तालाई जानकारी गराउन आवश्यक छ । साथै, यस्ता सामग्रीको प्रयोगलाई प्रोत्साहन गर्न सकेमा मौलिक सीप र संस्कृतिको संरक्षणमा सहयोग पुग्ने उनको भनाइ छ ।



















