वर्षा र पहिरोले तीन जिल्लाका सडक अवरुद्ध

Share this
782shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक २, सोमबार १३:११

काठमाडौँ । वर्षा तथा प्राकृतिक विपद्का कारण गण्डकी र कर्णाली प्रदेशका तीन जिल्लामा मुख्य सडक प्रभावित भएका छन् । म्याग्दी, गोरखा र सुर्खेतका विभिन्न स्थानमा पहिरो तथा बाढीका कारण सडक अवरुद्ध हुँदा यातायात सञ्चालनमा कठिनाइ भएको नेपाल प्रहरीले जनाएको छ ।

म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ बैसरीमा पहिरो खस्दा बेनी–जोमसोम सडकखण्ड एकतर्फी सञ्चालनमा रहेको छ । असोज १ गते बिहान ५:५० बजेदेखि उक्त सडकखण्ड प्रभावित भएको हो ।

त्यस्तै, गोरखाको आरुघाट गाउँपालिका–२ र ३ तथा वडा नम्बर १ को नयाँपुल क्षेत्रमा बाढीका कारण सडक अवरुद्ध भएको छ । सो क्षेत्रमा रहेको फलामे पुलमा समस्या आएपछि आरुघाटबाट धादिङ जोड्ने सडक पूर्ण रूपमा बन्द भएको प्रहरीले जनाएको छ । उक्त सडक आज बिहान ५:३० बजेदेखि अवरुद्ध छ ।

यसैगरी, सुर्खेतको बराहताल गाउँपालिका–७ औलिसेमा पहिरो खस्दा कर्णाली राजमार्ग एकतर्फी सञ्चालनमा रहेको छ । कात्तिक १ गते बिहान ५:४५ बजेदेखि उक्त सडकखण्ड प्रभावित भएको प्रहरीले जनाएको छ ।

अवरुद्ध सडक खुलाउन तथा यातायात सञ्चालनलाई सहज बनाउन आवश्यक प्रयास भइरहेको प्रहरीले जनाएको छ । सडकको अवस्था प्रतिकूल रहेकाले यात्रु तथा सवारी चालकलाई यात्रा गर्दा सतर्कता अपनाउन र सम्भावित जोखिमप्रति सचेत रहन आग्रह गरिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×