नवदुर्गाको अन्तिम स्वरूप सिद्धिदात्रीको पूजा गरिँदै

Share this
699shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक ३, मंगलबार ०६:५८

विराटनगर । शारदीय नवरात्रको नवौँ तथा अन्तिम दिन आज देवी दुर्गाको नवौँ स्वरूप माता सिद्धिदात्रीको विशेष पूजा–आराधना गरिँदैछ। धार्मिक मान्यताअनुसार माता सिद्धिदात्रीको श्रद्धा र भक्तिपूर्वक उपासना गर्दा सिद्धि प्राप्त हुनुका साथै दुःख–कष्टबाट मुक्ति, घरपरिवारमा सुख–शान्ति र मनोकामना पूरा हुने विश्वास छ।

‘सिद्धि’ को अर्थ आध्यात्मिक शक्ति वा उपलब्धि र ‘दात्री’ को अर्थ प्रदान गर्ने भन्ने हुन्छ । यसैले माता सिद्धिदात्रीलाई भक्तजनलाई विभिन्न प्रकारका सिद्धि प्रदान गर्ने देवीका रूपमा पूजा गरिन्छ। उहाँ नवदुर्गाका नौ स्वरूपमध्ये अन्तिम देवी हुनुहुन्छ।

पौराणिक मान्यताअनुसार भगवान् शिवले समेत माता सिद्धिदात्रीको अनुग्रहबाट सम्पूर्ण सिद्धि प्राप्त गर्नुभएको थियो। देवीकै कृपाले शिवजीको आधा शरीर नारी स्वरूपमा परिणत भएको र उहाँ ‘अर्धनारीश्वर’ नामले प्रसिद्ध हुनुभएको धार्मिक विश्वास छ।

माता सिद्धिदात्री कमलको फूलमा विराजमान हुनुहुन्छ। उहाँका चार हातमा शङ्ख, चक्र, गदा र कमलको फूल रहेको धार्मिक वर्णन पाइन्छ। उहाँको वाहन सिंह मानिन्छ। देवीको स्मरण, ध्यान र आराधनाले सांसारिक मोहबाट मुक्त भई आध्यात्मिक उन्नति तथा मोक्षको मार्गमा अघि बढ्न प्रेरणा मिल्ने धार्मिक विश्वास छ।

पूजाविधि

नवौँ दिन बिहान स्नान गरी शुद्ध भएर दियो, कलश र गणेशको पूजा गरेपछि माता सिद्धिदात्रीको विधिपूर्वक पूजा–आराधना गरिन्छ। यस क्रममा देवीको मन्त्र जप, ध्यान, स्तोत्र पाठ, पुष्प तथा नैवेद्य अर्पण र आरती गर्ने परम्परा छ। विशेषगरी रातो फूल तथा सुगन्धित पुष्प चढाउने र नरिवल तथा गुलिया परिकार नैवेद्यका रूपमा अर्पण गर्ने चलन रहेको छ।

धार्मिक मान्यताअनुसार माता सिद्धिदात्रीको श्रद्धापूर्वक उपासना गर्दा पूर्वजन्मका पापबाट मुक्ति, पारिवारिक सुख–शान्ति र दुःख–कष्ट निवारण हुने विश्वास गरिन्छ। नवरात्रको अन्तिम दिन देवीको पूजा–आराधना गरी भक्तजनले सुख, समृद्धि, शान्ति र आध्यात्मिक उन्नतिको कामना गर्ने परम्परा छ।

पूजाविधि:

बिहान स्नान आदि नित्य कर्म सकेर पूजा सामग्री तयार पारी दियो, कलश र गणेशको पूजा गरिसकेपछि देवी सिद्धिदात्रीको विधिपूर्वक पूजा गर्नुपर्दछ। “ॐ ह्रीं चामुण्डायै विच्चे नमो नमः”– देवीको यो बीज मन्त्र कम्तीमा १०८ पटक उच्चारण गर्नुपर्दछ। यसका साथै भगवान् शङ्कर र ब्रह्माजीको समेत पूजा गरिसकेपछि अन्त्यमा प्रसाद चढाउँदै आरती गर्नुपर्दछ। पूजा सम्पन्न भएपछि प्रसाद वितरण गरी आफूले पनि ग्रहण गर्नुपर्दछ।

यसरी सिद्धिदात्री देवीको ध्यान र स्तोत्र पाठ गर्नाले सम्पूर्ण मानव जातिले सिद्धि प्राप्त गर्दछन्। आफ्नो श्रद्धा र भक्तिले माता सिद्धिदात्रीको पूजा तथा आराधना गरेमा पूर्वजन्मको पापबाट मुक्ति मिल्ने, घरपरिवारमा सुख-शान्ति छाउने, दुःख-कष्ट हरण हुने र अलौकिक शक्ति प्राप्त हुने शास्त्रको वचन रहेको छ। माता सिद्धिदात्रीलाई विशेष गरी रातो फूल तथा सबै प्रकारका सुगन्धित पुष्पहरू अति प्रिय छन् भने नैवेद्यमा नरिवल तथा गुलिया परिकारहरू अधिक मन पर्छ।

ध्यान

वन्दे वांछित मनोरथार्थ चन्द्रार्धकृत शेखराम् ।
कमलस्थितां चतुर्भुजां सिद्धिदात्रीं यशस्विनीम् ।।
स्वर्णवर्णां निर्वाणचक्रस्थितां नवम् दुर्गां त्रिनेत्राम् ।
शङ्ख, चक्र, गदा, पद्म धरां सिद्धिदात्रीं भजेम् ।।
पटाम्बर परिधानां मृदुहास्यां नानालंकार भूषिताम् ।
मञ्जीर, हार, केयूर, किङ्किणि रत्नकुण्डल मण्डिताम् ।।
प्रफुल्ल वदनां पल्लवाधरां कान्तं कपोलां पीनपयोधराम् ।
कमनीयां लावण्यां क्षीणकटिं निम्ननाभिं नितम्बिनीम् ।।

स्तोत्र पाठ

कञ्चनाभां शङ्खचक्रगदापद्मधरां मुकुटोज्ज्वलाम् ।
स्मेरमुखीं शिवपत्नीं सिद्धिदात्रीं नमोऽस्तु ते ।।
पटाम्बर परिधानां नानालंकार भूषिताम् ।
नलिनस्थितां नलिनाक्षीं सिद्धिदात्रीं नमोऽस्तु ते ।।
परमानन्दमयीं देवी परब्रह्म परमात्मा ।
परमशक्ति, परमभक्ति, सिद्धिदात्री नमोऽस्तु ते ।।
विश्वकर्त्री, विश्वभर्त्री, विश्वहर्त्री, विश्वप्रीता ।
विश्वार्चिता, विश्वातीता सिद्धिदात्री नमोऽस्तु ते ।।
भुक्तिमुक्तिकारिणी भक्तकष्टनिवारिणी ।
भव सागर तारिणी सिद्धिदात्री नमोऽस्तु ते ।।
धर्मार्थकाम प्रदायिनी महामोह विनाशिनी ।
मोक्षदायिनी सिद्धिदायिनी सिद्धिदात्री नमोऽस्तु ते ।।

तपाइको प्रतिक्रिया
दसैँलाई लक्षित गर्दै कोप्चे–बराह क्षेत्र जेटबोट सेवा पुनः सञ्चालन
तीन महिनादेखि अवरुद्ध खाँदबारी–किमाथांका सडक सञ्चालनमा 
नवदुर्गाको अन्तिम स्वरूप सिद्धिदात्रीको पूजा गरिँदै
कोशीसहित तीन प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
कोशीसहित तीन प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
राष्ट्रपति पौडेलद्वारा शक्तिपीठमा पूजा
 नारायणगढको शहीदचोकमा ट्राफिक लाइटको तार चोरी
हिन्दी चलचित्र ‘उड्ता तिर’ले पाएन नेपालमा प्रदर्शन अनुमति
कोप सम्मेलन : जलवायु न्याय नेपालको प्राथमिकता
क्यानडाको सैन्य शिविरमा आगलागी, चार सैनिकको मृत्यु, १९ गम्भीर घाइते
पूर्वाधारबिनै चिकित्सा शिक्षा सञ्चालनको अनुमति दिएको भन्दै आपत्ति
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×