
विराटनगर । मोरङको धनपालथान गाउँपालिकामा मोटरसाइकलको ठक्करबाट घाइते भएका एकजनाको उपचारका क्रममा मृत्यु भएको छ ।
गत शनिबार राति धनपालथान गाउँपालिका–३ को भित्री सडकमा भारतीय नम्बर प्लेटको बीआर ३८ एएच ०३६६ नम्बरको मोटरसाइकलले सडकछेउमा बसिरहेका मानिसलाई ठक्कर दिँदा दुर्घटना भएको हो ।
दुर्घटनामा धनपालथान–३ का ४० वर्षीय प्रीति चन्द राजवंशी, उनका चार वर्षीय छोरा राज रिसिदेव र सोही ठाउँका ५५ वर्षीय चाहारु रिसिदेव घाइते भएका थिए । उनीहरूलाई रंगेली अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि विराटनगर रेफर गरिएको थियो ।
घाइते प्रीतिको विराटनगरस्थित जीवन विकास अस्पतालमा उपचारका क्रममा आइतबार राति ११:३० बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा मोटरसाइकल चालक भारतको अररिया, आँपगाछी गाउँपालिका–३ बारुदहका २२ वर्षीय बलराम कुमार सदा र मोटरसाइकलमा सवार अररिया, पुवारी गाउँपालिका–४ मेघाका २२ वर्षीय गौतम सदा पनि घाइते भएका छन् । उनीहरूको रंगेली अस्पतालमा उपचार भइरहेको छ ।
दुर्घटनामा संलग्न मोटरसाइकल प्रहरी चौकी बेतौनामा राखिएको छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।

























