जटिल प्रसूति समस्यामा परेकी किशोरीलाई हवाईमार्फत उद्धार

Share this
700shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक ३, मंगलबार १३:५८

काठमाडौं । जाजरकोटको कुशे गाउँपालिका–२ की १७ वर्षीया महिलालाई जटिल प्रसूति समस्या देखिएपछि थप उपचारका लागि हवाई उद्धार गरी सुर्खेत लगिएको छ। गर्भवती तथा सुत्केरी महिलाको हवाई उद्धार कार्यक्रमअन्तर्गत नेपाली सेनाको हवाई साधनमार्फत उनलाई सुर्खेत पुर्‍याइएको हो।

महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक तथा सामाजिक सुरक्षा मन्त्रालयद्वारा राष्ट्रिय महिला सशक्तीकरण परियोजनाअन्तर्गत सञ्चालित उक्त कार्यक्रममार्फत महिलाको उद्धार गरिएको मन्त्रालयले जनाएको छ।

जटिल प्रसूति समस्याका कारण थप उपचार आवश्यक भएपछि उनलाई हवाई माध्यमबाट सुर्खेत लगिएको मन्त्रालयले जानकारी दिएको छ।

भौगोलिक विकटता, स्वास्थ्य संस्थामा पर्याप्त उपचार सेवा उपलब्ध नहुनु तथा समयमै स्वास्थ्य सेवा प्राप्त गर्न कठिनाइ हुने अवस्थाका कारण दुर्गम क्षेत्रका गर्भवती तथा सुत्केरी महिला बढी जोखिममा पर्ने गरेका छन्। यस्तो अवस्थामा हवाई उद्धार कार्यक्रम उनीहरूको जीवनरक्षाका लागि महत्त्वपूर्ण माध्यम बन्दै आएको छ।

दुर्गम क्षेत्रका गर्भवती तथा सुत्केरी महिलाको जीवन रक्षा र सुरक्षित मातृत्व सुनिश्चित गर्ने उद्देश्यले मन्त्रालयले सम्बन्धित निकायसँग समन्वय गरी हवाई उद्धार कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×