
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार दुर्घटनामा घाइते भएका सबै नौ जनालाई उपचारका लागि पञ्चपुरी आधारभूत अस्पताल लगिएको थियो। घाइतेमध्ये तीन जनाको अवस्था मध्यम र छ जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
दुर्घटनामा अछामको तुर्माखाँद गाउँपालिका–६ की २७ वर्षीया जीवनकला बयक, विनायक नगरपालिका–१ का २५ वर्षीय हेमन्त तिमल्सिना र कैलालीको लम्कीचुहा नगरपालिका–४ का २० वर्षीय गोपाल बोगटी घाइते भएका छन्। प्रहरीका अनुसार तीनै जनाको टाउको र हातमा चोट लागेको छ। उनीहरूको अवस्था मध्यम रहेको छ। घाइते तिमल्सिनालाई थप उपचारका लागि बिहान ११ः३० बजे प्रदेश अस्पताल कालागाउँ, सुर्खेतमा रिफर गरिएको प्रहरीले जनाएको छ।
दुर्घटनामा अन्य छ जना पनि घाइते भएका छन्। घाइते हुनेमा कैलालीका तीन वर्षीय समिर बादी, दैलेखको ठाटीकाँध गाउँपालिका–३ का ४१ वर्षीय बिर्ख टमटा र सोही ठाउँकी २० वर्षीया शारदा टमटा रहेका छन्।
त्यस्तै, अछामको कमलबजार नगरपालिका–७ का १५ वर्षीय निरज भण्डारी, विनायक नगरपालिका–८ का ३५ वर्षीय धिराज विक र कैलालीको लम्कीचुहा नगरपालिका–४ की २० वर्षीया शान्ति भण्डारी पनि घाइते भएका छन्। प्रहरीका अनुसार समिरको टाउको र हातमा, बिर्खको हातमा, शारदाको टाउकोमा, निरजको हातमा, धिराजको हातमा र शान्तिको टाउकोमा चोट लागेको छ। उनीहरू सबैको अवस्था सामान्य रहेको छ।
दुर्घटनाका बेला गाडीमा सवार अन्य १० जना यात्रु सकुशल रहेका छन्। बालबालिकासमेत रहेका उनीहरूलाई सम्बन्धित समितिसँग समन्वय गरी गन्तव्यतर्फ पठाइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।
प्रहरीका अनुसार दुर्घटनामा परेको गाडी अछामको विनायक नगरपालिका निवासी करिब ३५ वर्षीय विष्णु शाहीले चलाएका थिए। गाडी सडकमा पल्टिएपछि चालक फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।
दुर्घटनाको सूचना प्राप्त हुनासाथ प्रहरी चौकी सालकोटबाट दुई जना तथा इलाका प्रहरी कार्यालय बाबियाचौरबाट प्रहरी नायब निरीक्षक बुद्धिसागर चौधरीको कमान्डमा ट्राफिकसहित छ जनाको टोली घटनास्थलमा खटिएको थियो।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक श्यामप्रकाश यादवका अनुसार दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।



















