
काठमाडौं । विजयादशमीका अवसरमा भक्तपुरस्थित ब्रह्मायणी मन्दिरमा लाग्ने परम्परागत ब्रह्मायणी जात्रामा रातिदेखि नै दर्शनार्थीको घुइँचो लागेको छ। नवदुर्गाको शक्तिपीठका रूपमा पूजिने ब्रह्मायणी मन्दिरमा त्रिपुरा सुन्दरी प्रकट हुने जनविश्वासका साथ प्रत्येक वर्ष विजयादशमीका दिन भव्य मेला लाग्ने गर्दछ।
भक्तपुरवासी धिमेबाजाको तालमा मध्यरातिदेखि नै घरघरबाट ब्रह्मायणी मन्दिर पुगेर जात्रामा सहभागी भएका छन्। विजयादशमीका दिन मन्दिरमा पूजा गर्न र देवीको दर्शन गर्न भक्तजनको ठूलो भीड लाग्ने परम्परा छ।
यस जात्राको विशेष आकर्षणका रूपमा व्रतालुहरूले शरीरमा दीप बालेर तथा घस्रिँदै र पल्टिँदै मन्दिरसम्म पुगेर पूजा गर्ने गर्दछन्। व्रत बसेका भक्तजनले शरीरमा पाँच, सात वा १८ वटा दियो बालेर घरदेखि मन्दिरसम्मको यात्रा पूरा गर्ने परम्परा छ। कतिपय भक्तजन शरीर नाप्दैसमेत मन्दिर पुग्ने गर्दछन्। यसरी पूजा गर्दा मनोकामना पूरा हुनुका साथै धर्म प्राप्त हुने जनविश्वास रहिआएको छ।
नेवार समुदायमा विजयादशमीलाई ‘मोहनी नखः’ का रूपमा मनाउने गरिन्छ। यस दिन घरघरमा कालो टीका लगाएपछि प्रत्येक घरबाट पूजासामग्री लिएर ब्रह्मायणी मन्दिर पुग्नुपर्ने परम्परा रहेको छ। नवदुर्गा प्रकट हुने विश्वासका कारण मन्दिरमा दिनभरि नै भक्तजनको आवागमन हुने गर्दछ।
ब्रह्मायणी मन्दिरमा पूजा गर्न भक्तपुरका विभिन्न क्षेत्रका साथै मध्यपुरथिमि, ताथली, सुडाल, बागीश्वरी, चित्तपोल, सिपाडोल, नङ्खेल र गुण्डुललगायत स्थानबाट श्रद्धालु पुग्ने गर्दछन्। त्यस्तै, काभ्रे, ललितपुर र काठमाडौँबाट समेत भक्तजन आउने गरेका छन्। मन्दिरमा जमरा, हाँसको फूललगायत पूजासामग्री चढाउनुका साथै हाँस, बोका र कुखुराको भालेको बलि दिने परम्परासमेत छ।
ब्रह्मायणी जात्रा सुरु हुनुअघि गाँठेमङ्गलका दिन नवदुर्गा मन्दिरमा ल्याएर पालिएको महिषासुर दैत्यको प्रतीक ‘खःमेय’ अर्थात् राँगोलाई विशेष विधिअनुसार बध गरिन्छ। यस वर्ष पनि मङ्गलबार साँझ नवदुर्गा मन्दिरबाट राँगोलाई जाँड खुवाएर मत्ताइएको थियो। त्यसपछि अबिर र तेल दलेर दौडाउँदै तथा लखेट्दै ब्रह्मायणी मन्दिर पुर्याएर बध गरिएको थियो।
खःमेय बधको विधि सम्पन्न भएसँगै रातिदेखि नै ब्रह्मायणी जात्रा सुरु भएको हो। धार्मिक आस्था, मौलिक संस्कृति र परम्परासँग जोडिएको यस जात्राले भक्तपुरको सांस्कृतिक पहिचानलाई जीवन्त राख्दै आएको छ।



















