
वीरगञ्ज । पर्साको वीरगञ्जमा नेपाली नागरिकलाई क्यासिनोमा प्रवेश गराई जुवा खेल्ने तथा खेलाउने कार्यमा संलग्न रहेको आरोपमा पाँच जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार २०८३ कात्तिक ३ गते साँझ करिब ७ः३० बजे वीरगञ्ज महानगरपालिका–१४ गण्डकस्थित गोल्डेन फिङ्गर गेमिङ जोन प्रालि (क्यासिनो) मा नेपाली नागरिकलाई प्रवेश गराएर जुवा खेलाइरहेको सूचना प्राप्त भएको थियो।
सूचनापछि खटिएको प्रहरी टोलीले क्यासिनोमा नेपाली नागरिकलाई प्रवेश गराई जुवा खेल्ने तथा खेलाउने कार्य भइरहेको अवस्थामा पाँच जनालाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा बाराको पचरौता नगरपालिका–४ का ४८ वर्षीय रामचन्द्र साह, प्रसौनी गाउँपालिका–८ का ४९ वर्षीय अच्छेलाल प्रसाद, प्रसौनी गाउँपालिका–१ का ४७ वर्षीय सुवास कुमार, परवानीपुर गाउँपालिका–५ का ३५ वर्षीय सुनिल पटेल र रौतहटको बौधीमाई नगरपालिका–९ का ५० वर्षीय सुमेश्वरनाथ प्रसाद रहेका छन्।
प्रहरीले उनीहरूलाई जिल्ला प्रहरी कार्यालय पर्सामा ल्याई थप अनुसन्धान गरिरहेको जनाएको छ।


















