
मकवानपुर । हेटौँडामा कार र मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा पछाडि सवार एक जनाको मृत्यु भएको छ ।हेटौँडा उपमहानगरपालिका–९ स्थित एचआईडी गेटनजिक महेन्द्र राजमार्गमा शुक्रबार दिउँसो दुर्घटना भएको हो । हेटौँडा बजारबाट रातोमाटेतर्फ जाँदै गरेको बा.७५ प ६२७२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई विपरीत दिशाबाट आउँदै गरेको बा.प्र.०१–०२८ च १५३२ नम्बरको कारमा ठोक्किएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा मोटरसाइकलको पछाडि सवार मकवानपुरको हेटौँडा–१३ निवासी २४ वर्षीय सुकराम लोप्चन घाइते भएका थिए । उनको बायाँ कोखा र दुवै खुट्टामा चोट लागेको थियो । हेटौँडा अस्पतालमा उपचारपछि थप परीक्षणका लागि सन्चो अस्पताल लगिएका लोप्चनको उपचारका क्रममा शुक्रबार साँझ ५:३० बजे मृत्यु भएको हो ।
मोटरसाइकल चालक २६ वर्षीय प्रकाश थापा मगरको दाहिने हात र खुट्टामा चोट लागेको छ । उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । कार चालक मोरङको विराटनगर महानगरपालिका–४ निवासी ३५ वर्षीय शिवप्रसाद खतिवडा भने सकुशल छन् ।
लोप्चनको मृत्यु भएपछि उपचारमा लापरबाही भएको भन्दै आफन्त र स्थानीय गरी करिब २०–२५ जना सन्चो अस्पतालमा भेला भएर विवाद गरेका थिए । त्यसपछि जिल्ला प्रहरी कार्यालय मकवानपुर, वडा प्रहरी कार्यालय हेटौँडा र इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरी टोली परिचालन गरी उनीहरूलाई सम्झाइबुझाइ गरिएको थियो ।
मृतकको शव पोस्टमार्टमका लागि हेटौँडा अस्पताल पठाइएको छ । दुर्घटनामा संलग्न कार, कार चालक र मोटरसाइकल चालकलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरमा राखिएको छ भने मोटरसाइकल इलाका प्रहरी कार्यालय पशुपतिनगरको नियन्त्रणमा छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।

























