
विराटनगर । दसैँको समयमा छिटफुट घटनाबाहेक ठूला घटना नभएको भन्दै कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी शेखर खनालले प्रहरी कर्मचारीलाई धन्यवाद दिएका छन् । तर, चाडपर्वका बेला सवारी दुर्घटनाबाट मृत्यु र घाइते हुनेको संख्या बढेको भन्दै उनले जिल्ला प्रहरी प्रमुखहरूलाई सवारी चेकजाँचमा कडाइ गर्न निर्देशन दिएका छन् ।
कोशी प्रदेशका १४ वटै जिल्लाका प्रहरी प्रमुखलाई शनिबार निर्देशन दिँदै डीआईजी खनालले चाडपर्व लक्षित विशेष सुरक्षा योजना प्रभावकारी रूपमा कार्यान्वयन गर्न आग्रह गरेका हुन् । उनले विशेषगरी जनपद र ट्राफिक प्रहरीको संयुक्त चेक प्वाइन्ट बढाएर सवारीसाधनको निगरानी गर्न निर्देशन दिएका छन् ।
उनका अनुसार मादक पदार्थ तथा लागुऔषध सेवन गरेर सवारी चलाउने, हेल्मेट नलगाई मोटरसाइकल चलाउने, मोटरसाइकलमा दुई जनाभन्दा बढी सवार हुने, चालक अनुमतिपत्रबिना सवारी चलाउने र तीव्र गतिमा सवारी हाँक्नेजस्ता कारणले दुर्घटना बढेको देखिएको छ ।
विशेषगरी साँझ ६ बजेदेखि राति १२ बजेसम्म सवारी दुर्घटना बढी हुने गरेको उल्लेख गर्दै उनले उक्त समयमा संयुक्त चेकजाँचलाई थप प्रभावकारी बनाउन निर्देशन दिएका छन् । चाडपर्व लक्षित सुरक्षा योजना लागू भए पनि फिल्डमा संयुक्त चेक प्वाइन्ट पर्याप्त रूपमा सञ्चालन भएको नदेखिएको भन्दै उनले त्यसलाई बढाउनुपर्नेमा जोड दिएका छन् ।
डीआईजी खनालले सवारी चेकजाँचको उद्देश्य जरिबाना काटेर राजस्व संकलन गर्नु नभई दुर्घटना न्यूनीकरण गर्नु भएको स्पष्ट पारेका छन् । उनले राजस्व संकलनभन्दा सडक अनुशासन कायम गराउने र चालकलाई सचेत बनाउने कार्यलाई प्राथमिकता दिन प्रहरीलाई निर्देशन दिए ।
त्यसैगरी, दसैँमा स्थापना गरिएका देवीदेवताका मूर्ति विसर्जनका कार्यक्रम जारी रहेकाले धार्मिक तथा साम्प्रदायिक सद्भावमा असर पर्न नदिन भरपर्दो सुरक्षा व्यवस्था मिलाउन उनले निर्देशन दिएका छन् ।
मूर्ति विसर्जनका क्रममा सम्भावित अवाञ्छित गतिविधि रोक्न आवश्यक सुरक्षा सतर्कता अपनाउन र सम्भव भएसम्म मस्जिद तथा मदरसाको बाटो प्रयोग नगर्न उनले आग्रह गरेका छन् । त्यस्ता धार्मिक स्थलको बाटो प्रयोग गर्नैपर्ने अवस्था आएमा सुरक्षा घेराभित्र मात्र विसर्जन जुलुस लैजान निर्देशन दिइएको छ ।
मूर्ति विसर्जनका क्रममा डिजे बजाउन पूर्ण प्रतिबन्ध लगाउनसमेत डीआईजी खनालले निर्देशन दिएका छन् । प्रतिबन्धका बाबजुद डिजे बजाउने कार्य नरोकिएमा त्यसमा संलग्नलाई नियन्त्रणमा लिन प्रहरी परिचालन बढाउन र एलआरपी, एमआरपी तथा एसआरपी गस्तीको संख्या वृद्धि गर्न उनले भनेका छन् ।
चाडपर्वका बेला सवारी दुर्घटना नियन्त्रण, सडक अनुशासन कायम र धार्मिक सद्भावलाई प्राथमिकतामा राख्दै कोशी प्रदेशका सबै जिल्ला प्रहरी कार्यालयलाई सुरक्षा व्यवस्थापन प्रभावकारी बनाउन डीआईजी खनालले निर्देशन दिएका हुन् ।

























