श्रीमतीको हत्यापछि श्रीमानले गरे आत्महत्या

Share this
727shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक ८, आइतबार ०९:२१

जनकपुरधाम । धनुषामा धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेपछि श्रीमान्‌ले पनि आत्महत्या गरेका छन् । घटनामा उनीहरूका चार वर्षीय छोरा घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार गणेशमान चारनाथ नगरपालिका–४, भरतपुरका ३५ वर्षीय उमेश यादवले मिथिला बिहारी नगरपालिका–३, मिथिलेश्वरस्थित ससुरालीमा गएर ३० वर्षीया श्रीमती रिना यादव र चार वर्षीय छोरा सम्राट यादवमाथि धारिलो हतियार प्रहार गरेका थिए ।

प्रहरीका अनुसार उमेश कात्तिक ७ गते राति करिब ९ बजे ससुराली पुगेका थिए । सोही राति करिब १:५० बजे श्रीमती र छोरामाथि हतियार प्रहार गरेर उनी फरार भएका थिए ।

प्रहरी प्रवक्ता एवं डीएसपी ओमप्रकाश खनालका अनुसार घटनाको सूचना पाएपछि इलाका प्रहरी कार्यालय धनुषाधामबाट प्रहरी निरीक्षक राजेशकुमार शर्माको नेतृत्वमा गएको टोलीले रिनालाई घाँटीमा धारिलो हतियारले काटिएको अवस्थामा मृत फेला पारेको थियो । छोरा सम्राट्को दाहिने तिघ्रामा काटिएको चोट लागेको थियो ।

घाइते बालकको स्थानीय क्लिनिकमा प्राथमिक उपचारपछि थप उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको प्रहरीले जनाएको छ । घटनास्थलबाट प्रहरीले रगत लागेको चक्कुसमेत बरामद गरेको छ ।

घटनापछि फरार उमेशको खोजी गर्ने क्रममा घटनास्थलबाट करिब एक किलोमिटर पश्चिम मिथिला बिहारी नगरपालिका–२ स्थित सिर्सिया जाने बाटोको दक्षिणपट्टि आँपको रुखमा झुन्डिएको अवस्थामा उनको शव फेला परेको प्रहरीले जनाएको छ ।

रिनाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×