२४ घण्टामा २० विपद्का घटना, आठ जना घाइते

Share this
697shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक ८, आइतबार १२:२०

काठमाडौं । देशका विभिन्न जिल्लामा पछिल्लो २४ घण्टामा २० वटा विपद्का घटना भएका छन्। आगलागी, सर्पदंश, लेक लाग्ने, पहिरो तथा जनावरको आक्रमणलगायतका घटनामा परी आठ जना घाइते भएका छन् भने करिब २४ लाख १५ हजार रुपैयाँ बराबरको आर्थिक क्षति भएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार कात्तिक ६ गते बिहान १० बजेदेखि पछिल्लो २४ घण्टाको अवधिमा देशका विभिन्न स्थानमा यी विपद्का घटना भएका हुन्।

प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार सप्तरी, धादिङ, गोरखा, कञ्चनपुर र डडेल्धुरामा सर्पदंशका घटना भएका छन्। त्यसैगरी, मोरङ, सुनसरी, बारा, नवलपरासी पूर्व, दाङ, सल्यान, कैलाली र डडेल्धुरामा आगलागीका घटना भएको प्राधिकरणले जनाएको छ।

यसैगरी, मनाङ र डोल्पामा लेक लाग्ने, म्याग्दीमा पहिरो तथा कास्की र कैलालीमा जनावरको आक्रमणका घटना भएका छन्। यी घटनामा आठ जना घाइते भएका छन्। मानवीय क्षति नभए पनि विभिन्न स्थानमा भौतिक सम्पत्तिमा क्षति पुगेको प्राधिकरणले जनाएको छ।

विपद्का घटनामा घाइते भएकामध्ये केहीको सम्बन्धित जिल्लाका अस्पतालमा उपचार भइरहेको छ भने केहीलाई थप उपचारका लागि अन्य जिल्लाका अस्पतालमा पठाइएको छ। घटनाबाट भएको क्षतिको विवरण संकलन गर्नुका साथै प्रभावित क्षेत्रमा आवश्यक व्यवस्थापनका काम अघि बढाउन सम्बन्धित निकाय सक्रिय रहेको प्राधिकरणले जनाएको छ।

प्राधिकरणले विपद्को जोखिम देखिएमा स्थानीय प्रशासन, सुरक्षा निकाय तथा सम्बन्धित निकायसँग समन्वय गर्न सर्वसाधारणलाई आग्रह गरेको छ। साथै, आधिकारिक सूचनाको पालना गर्न र सम्भावित जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन पनि अनुरोध गरेको छ।

विपद् हुनुअघि नै जोखिम न्यूनीकरणका उपाय अवलम्बन गर्ने, सुरक्षित व्यवहार अपनाउने र सम्बन्धित निकायको निर्देशन पालना गर्ने हो भने सम्भावित मानवीय तथा भौतिक क्षति कम गर्न सकिने प्राधिकरणले जनाएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×