इजरायलद्वारा वेस्ट बैंकका स्थलमार्ग बन्द गर्ने घोषणा

Share this
742shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक ८, आइतबार १६:४७

एजेन्सी । प्यालेस्टिनी बन्दुकधारीको आक्रमणमा दुई इजरायली सैनिक मारिएपछि इजरायलले वेस्ट बैंकमा सैन्य कारबाही तीव्र बनाएको छ। आगामी अक्टोबर २७ मा हुने निर्वाचनका दिन वेस्ट बैंकसँग जोडिएका सबै स्थलमार्ग बन्द गर्ने घोषणा पनि इजरायलले गरेको छ।

इजरायली सेनाले हेब्रोन सहरमा प्रवेश गरी करिब दुई हजार प्यालेस्टिनी नागरिकलाई विस्थापित गराएको भोलिपल्ट उक्त घोषणा गरिएको हो। इजरायली रक्षामन्त्री इजरायल काट्जले हमाससँग सम्बन्धित समस्या समाधान नभएसम्म विस्थापित नागरिकलाई घर फर्कन नदिइने बताएका छन्।

शुक्रबार प्यालेस्टिनी सहरनजिकै रहेको एक जाँच चौकीमा भएको आक्रमणमा दुई इजरायली सैनिकको मृत्यु भएको थियो भने अन्य तीन जना घाइते भएका थिए। हमासले आक्रमणको जिम्मेवारी नलिए पनि घटनाको प्रशंसा गरेको छ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आक्रमणमा संलग्न पक्षले ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिएका छन्। उनले सन् १९६७ मा इजरायलले वेस्ट बैंक कब्जा गरेयताकै ठूलो स्तरको सैन्य कारबाही हुन सक्ने संकेतसमेत गरेका छन्।

इजरायली सेनाका अनुसार आइतबारदेखि प्यालेस्टिनी कामदारलाई वेस्ट बैंकस्थित इजरायली बस्ती, औद्योगिक क्षेत्र तथा जोर्डन उपत्यकामा प्रवेश गर्न रोक लगाइनेछ। साथै, निर्वाचनका दिन सबै स्थलमार्ग बन्द गरिने जनाइएको छ।

यसैबीच, प्यालेस्टिनी प्राधिकरणले सैन्य कारबाहीबाट प्रभावित नागरिकको सुरक्षाका लागि इजरायलमाथि अन्तर्राष्ट्रिय दबाब बढाउन आह्वान गरेको छ।

इजरायली सेनाले शुक्रबार र शनिबार वेस्ट बैंकका ४० स्थानमा कारबाही गरेको जनाएको छ। सेनाका अनुसार हमास र इस्लामिक जिहादजस्ता सङ्गठनसँग आबद्ध व्यक्तिसहित करिब ४० जना शंकास्पद व्यक्तिलाई पक्राउ गरिएको छ।

हेब्रोनको एन देर बहा क्षेत्रमा सैनिकहरूले रातको समयमा लाउडस्पीकरमार्फत स्थानीय बासिन्दालाई घर खाली गर्न निर्देशन दिएका थिए। स्थानीय ७० वर्षीय पसल सञ्चालक हिगाजी शावर अल–तमिमीका अनुसार उनकी ९० वर्षीया बिरामी सासूलाई समेत बोकेर सुरक्षित स्थानमा लैजानुपरेको थियो।

इजरायलका दक्षिणपन्थी अर्थमन्त्री बेजालेल स्मोट्रिचले गोलीकाण्डपछि अवैध संरचना भत्काउने आदेश दिएको बताएका छन्। उनले आक्रमणमा संलग्न पक्षले गम्भीर परिणाम भोग्नुपर्ने चेतावनीसमेत दिएका छन्।

इजरायली सेनाले सैन्य कारबाही केही दिनसम्म जारी रहने जनाएको छ। प्रधानमन्त्री नेतान्याहुको पछिल्लो अभिव्यक्तिले भने वेस्ट बैंकमा सैन्य अभियान थप व्यापक हुन सक्ने संकेत गरेको छ। यसले क्षेत्रमा सुरक्षा अवस्था थप जटिल बन्ने र सर्वसाधारण नागरिक प्रभावित हुने चिन्ता बढाएको छ।

तपाइको प्रतिक्रिया
सप्तकोशीमा मोटरबोट दुर्घटना: तीन जनाको मृत्यु, तीन जना बेपत्ता
सप्तकोशीमा मोटरबोट दुर्घटना: तीन जनाको मृत्यु, तीन जना बेपत्ता
एनपीएल विजेताले डेढ करोड पाउने, उपविजेतालाई ८० लाख
एनपीएल विजेताले डेढ करोड पाउने, उपविजेतालाई ८० लाख
पिजफायर सञ्चालकको मृत्यु प्रकरण : युवतीसँगको सम्बन्ध र आर्थिक हिसाबकिताबमाथि अनुसन्धान
इजरायलद्वारा वेस्ट बैंकका स्थलमार्ग बन्द गर्ने घोषणा
कोजाग्रत पूर्णिमामा राष्ट्रपतिद्वारा नवदुर्गाको पूजा
सप्तकोशीमा मोटरबोट पल्टिँदा तीन जनाको मृत्यु
कांग्रेसको नीति प्रतिष्ठान अब वरिष्ठ उपसभापतिको नेतृत्वमा
नेपालका तीन जलवायु परियोजना स्वीकृत
बैतडीमा ४.२ म्याग्निच्युडको भूकम्प, सुदूर पहाडमा धक्का
१४२ वर्षदेखि कायम रतौली–जानकी मन्दिरको सांस्कृतिक सम्बन्ध
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×