सप्तकोशीमा मोटरबोट दुर्घटना: तीन जनाको मृत्यु, तीन जना बेपत्ता

Share this
699shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक ८, आइतबार १८:०३
सप्तकोशीमा मोटरबोट दुर्घटना: तीन जनाको मृत्यु, तीन जना बेपत्ता

विराटनगर । सप्तकोशी नदीमा ब्रेक फेल भएर मोटरबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन् । भोजपुरको हतुवागढी गाउँपालिका–९ कोप्चेबाट चालकसहित १५ जना यात्रु लिएर सुनसरीको बराहक्षेत्रस्थित चतरातर्फ आउँदै गरेको मोटरबोट आइतबार दिउँसो धनकुटाको साँगुरीगढी गाउँपालिका–१० स्थित त्रिवेणीमा दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा सुनसरीको बराहक्षेत्र नगरपालिका–१ की ५२ वर्षीया लीला राई, करिब ६–७ वर्षीया एक बालिका र ४०–५० वर्ष उमेरका एक पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ । उनीहरूको चतरास्थित अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । मृतक बालिका र पुरुषको पहिचान खुल्न सकेको छैन ।

प्रहरीका अनुसार दुर्घटनालगत्तै बराहक्षेत्रस्थित प्रहरी चौकीबाट खटिएको टोलीले चालकसहित १२ जनाको उद्धार गरी चतरा अस्पताल पुर्याएको थियो । दुर्घटनामा भोजपुरको हतुवागढी गाउँपालिका–४ का ३१ वर्षीय मोहन सुनार घाइते भएका छन् । उनको चतरा अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परेका अन्य यात्रु पौडी खेलेर तथा उद्धारपछि सकुशल घर फर्किएका छन् ।

तर, झापाको कन्काई नगरपालिका–४ का ७ वर्षीय शिवक मगर, सुनसरीको बराहक्षेत्र नगरपालिका–१ की २१ वर्षीया प्रमिला मगर र सोही ठाउँकी २२ वर्षीया मनु राई अझै बेपत्ता रहेको प्रहरीले जनाएको छ । उनीहरूको खोजी तथा घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

दुर्घटनापछि उद्धार तथा खोजी कार्यका लागि जिल्ला प्रहरी कार्यालय धनकुटाबाट प्रहरी उपरीक्षक नारायण रञ्जितकारको कमान्डमा १४ जना र सशस्त्र प्रहरी बल नेपाल नम्बर ६ गुल्म धनकुटाबाट सशस्त्र प्रहरी नायब उपरीक्षक राजेश फुयाँलको कमान्डमा १६ जनाको टोली परिचालन गरिएको छ ।

प्रहरीका अनुसार मोटरबोटको ब्रेक फेल भएपछि दुर्घटना भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ । दुर्घटनामा परेको मोटरबोटका चालक सुमन मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×