
काठमाडौं । बंगालको खाडीमा विकसित चक्रवात ‘अर्णव’ शक्तिशाली बन्दै गएपछि नेपालमा पनि भारी वर्षा, हिमपात र हिमआँधीको जोखिम बढ्ने पूर्वानुमान गरिएको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आज (सोमबार) विशेष मौसमी बुलेटिन जारी गर्दै कात्तिक १२ देखि १४ गतेसम्म देशका अधिकांश भूभागमा मौसम प्रतिकूल हुन सक्ने जनाएको हो ।
महाशाखाका अनुसार चक्रवात ‘अर्णव’ थप शक्तिशाली बन्दै अति शक्तिशाली चक्रवातमा परिणत हुने क्रममा छ । उक्त प्रणाली उत्तरपश्चिम दिशातर्फ अघि बढ्दै कात्तिक ११ गते भारतको आन्ध्र प्रदेश र विशाखापट्टनमबीच पर्ने यानमनजिकको तटीय क्षेत्रबाट जमिनमा प्रवेश गर्ने अनुमान गरिएको छ । त्यसको प्रभाव कात्तिक १२ गतेदेखि नेपालमा देखिन सक्ने र शुक्रबार तथा शनिबार वर्षा तथा हिमपातको जोखिम थप बढ्ने आकलन गरिएको छ ।
महाशाखाले कात्तिक १३ र १४ गते कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित मध्यम वर्षा हुने सम्भावना औँल्याएको छ। ती प्रदेशका थोरै स्थानमा भारी वर्षासमेत हुन सक्ने पूर्वानुमान छ ।
त्यस्तै, लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन र हावाहुरीसहित मध्यम वर्षा तथा थोरै स्थानमा भारी वर्षा हुन सक्नेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मध्यम वर्षा र एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
सम्भावित वर्षाले कृषि क्षेत्रमा क्षति पुर्याउन सक्ने भएकाले महाशाखाले किसानलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ । धानबाली भित्र्याउने समयमै वर्षा हुन सक्ने देखिएकाले कृषि कार्य बिहीबारअघि नै सम्पन्न गर्न किसानलाई सुझाव दिइएको छ ।
वर्षाका कारण खेतमा पाकेको धान भिज्ने, बालीमा क्षति पुग्ने तथा कृषि उपजको व्यवस्थापनमा समस्या आउन सक्ने भएकाले किसानले मौसमको पूर्वानुमानलाई ध्यानमा राखेर आवश्यक तयारी गर्नुपर्ने देखिएको छ ।
यस अवधिमा उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको जोखिमसमेत बढ्न सक्ने महाशाखाले चेतावनी दिएको छ । त्यसैले पर्यटक तथा पदयात्रीलाई उच्च हिमाली क्षेत्रमा यात्रा नगर्न र त्यहाँ पुगिसकेकालाई सुरक्षित स्थानमा रहन आग्रह गरिएको छ ।
त्यस्तै, वर्षा र हिमपातका कारण देशका विभिन्न स्थानमा चिसो बढ्न सक्ने, पहाडी तथा हिमाली सडकमा पहिरो जाने र सडक तथा हवाई यातायात प्रभावित हुने सम्भावना छ । यसले दैनिक जनजीवनसँगै आवागमन र आपूर्ति व्यवस्थामा समेत असर पार्न सक्ने अनुमान गरिएको छ ।
सम्भावित मौसमी प्रतिकूलतालाई ध्यानमा राख्दै महाशाखाले सर्वसाधारण तथा सम्बन्धित निकायलाई आवश्यक पूर्वतयारी र सतर्कता अपनाउन आग्रह गरेको छ । भारी वर्षा हुने सम्भावित क्षेत्रमा नदी तथा खोलाको बहाव बढ्न सक्ने, पहिरोको जोखिम निम्तिन सक्ने र यातायात अवरुद्ध हुन सक्ने भएकाले यात्रा गर्नुअघि मौसमको अवस्था बुझ्न तथा सम्बन्धित निकायका सूचनालाई ध्यान दिन आवश्यक देखिएको छ ।
मौसमको अवस्थाबारे अद्यावधिक जानकारी लिँदै कृषि उपज सुरक्षित राख्ने, जोखिमयुक्त क्षेत्रमा अनावश्यक यात्रा नगर्ने र सम्भावित विपद्बाट जोगिन पूर्वतयारी अपनाउनु महत्त्वपूर्ण हुने महाशाखाले जनाएको छ ।


























