
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा साविक विजेता लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई निराश पार्दै प्रतियोगितामा सुखद सुरुवात गरेको छ । सुदूरपश्चिमलाई ७ विकेटले पराजित गरेको लुम्बिनीले कमजोर लक्ष्यलाई १० ओभरअघि नै पूरा गरेको हो ।
त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा सुदूरपश्चिमले दिएको ८८ रनको लक्ष्य लुम्बिनीले ९.५ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । लुम्बिनीको जितमा डार्सी शर्टले आक्रामक ब्याटिङ गर्दै १८ बलमा ४० रन बनाए । उनले आफ्नो इनिङ्समा चार चौका र तीन छक्का प्रहार गरे । आसिफ शेखले ३२ रन जोड्दै जितको आधार तयार गरे ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम १७.२ ओभरमा ८७ रनमै समेटिएको थियो । उसका ब्याटरले लुम्बिनीको कसिलो बलिङसामु खुलेर खेल्न सकेनन् । दीपेन्द्र सिंह ऐरीले २७ र सैफ जैबले १३ रन बनाए । अनिल खरेल १५ रनमा अविजित रहे । अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन् ।
सुदूरपश्चिमको ब्याटिङ ध्वस्त पार्ने क्रममा लुम्बिनीका किशोर महतोले सर्वाधिक चार विकेट लिए । शेर मल्लले तीन विकेट झारे भने शेड्ली भान शाल्कविक, तिलक भण्डारी र रोहित पौडेलले एक–एक विकेट हात पारे ।
सुदूरपश्चिमलाई सानो योगफलमा रोक्न बलिङमा प्रभावशाली प्रदर्शन गरेको लुम्बिनीले जवाफी ब्याटिङमा पनि आक्रामक रणनीति अपनायो । शर्ट र आसिफको योगदानमा सहज जित निकालेको साविक विजेताले तेस्रो संस्करणको एनपीएलमा आफ्नो दाबेदारीलाई बलियो बनाएको छ ।

























