
विराटनगर । बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय क्षेत्र चक्रवातमा परिणत भई नेपालमा समेत भारी वर्षा गराउन सक्ने सम्भावना रहेकाले जिल्ला प्रशासन कार्यालय मोरङले उच्च सतर्कता अपनाउन जिल्लावासीलाई आग्रह गरेको छ ।
जिल्ला प्रशासन कार्यालय मोरङले सोमबार सूचना जारी गर्दै आगामी कात्तिक ११ गते बुधबारदेखि १५ गते आइतबारसम्म मौसम प्रभावित हुन सक्ने भन्दै सम्भावित विपद्बाट जोगिन पूर्वतयारी अवस्थामा रहन आग्रह गरेको हो । नेपाल मौसम विज्ञान विभागले कात्तिक ६ गते जारी गरेको विशेष मौसमी बुलेटिनअनुसार पूर्वमध्य तथा आसपासको दक्षिणपूर्वी बंगालको खाडीमा विकसित न्यून चापीय क्षेत्र क्रमशः बलियो हुँदै कात्तिक ९ गते सोमबार चक्रवातमा परिणत हुने सम्भावना छ ।
उक्त प्रणाली पश्चिम–उत्तरपश्चिम दिशातर्फ सर्दै भारतको उत्तर आन्ध्र प्रदेश तथा दक्षिण ओडिशाको आसपासको तटबाट जमिनमा प्रवेश गर्न सक्ने अनुमान गरिएको छ । यस मौसम प्रणालीका कारण नेपालमा भारी वर्षा हुन सक्ने र त्यसले नदी तथा खोलामा पानीको बहाव बढाउनुका साथै आकस्मिक बाढी, पहिरो, गेग्रान बहाव र डुबानको जोखिम निम्त्याउन सक्ने प्रशासनले जनाएको छ । वर्षाका कारण सडक तथा हवाई यातायातसमेत प्रभावित हुन सक्ने भएकाले सावधानी अपनाउन प्रशासनले अनुरोध गरेको छ ।
प्रशासनले नदी तथा खोला किनार, पहिरोको जोखिम भएका क्षेत्र, भिरालो जमिन र डुबान हुन सक्ने स्थानमा बसोबास गर्ने नागरिकलाई विशेष सतर्कता अपनाउन भनेको छ । जोखिमको संकेत देखिएमा ढिलाइ नगरी नजिकको सुरक्षित स्थानमा जान र स्थानीय तह तथा सुरक्षा निकायसँग समन्वय गर्न आग्रह गरिएको छ ।
त्यस्तै, अति आवश्यक कामबाहेक लामो दूरी तथा रातको समयमा यात्रा नगर्न, यात्रा गर्नुअघि सडक र मौसमको अवस्था बुझ्न तथा मौसम पूर्ण रूपमा नखुलेसम्म अन्नबाली काट्ने योजना नबनाउन प्रशासनले अनुरोध गरेको छ । काटिसकेको अन्नबाली सुरक्षित स्थानमा राख्नसमेत भनिएको छ ।
सम्भावित विपद्का बेला बालबालिका, ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति, गर्भवती तथा बिरामीको सुरक्षामा विशेष ध्यान दिन र पशुचौपाया, खाद्यान्न, औषधि, महत्त्वपूर्ण कागजातलगायत आवश्यक सामग्री सुरक्षित स्थानमा राख्न प्रशासनले आग्रह गरेको छ । नेपाल मौसम विज्ञान विभाग, संघीय तथा प्रदेश सरकार, स्थानीय तह र सुरक्षा निकायबाट जारी हुने आधिकारिक पूर्वानुमान, पूर्वसूचना तथा चेतावनीका बारेमा नियमित जानकारी लिन र सम्बन्धित निकायका निर्देशन पालना गर्न पनि सूचनामा भनिएको छ ।
मोरङका निमित्त प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाले स्थानीय तह, सुरक्षा निकाय, स्वयंसेवक तथा अन्य सरोकारवाला निकायलाई आवश्यक पूर्वतयारी अवस्थामा रहन र जोखिममा रहेका नागरिकलाई समयमै सुरक्षित स्थानमा स्थानान्तरण गर्ने व्यवस्था मिलाउन अनुरोध गरेका छन् । प्रशासनले वर्षा तथा बाढीसम्बन्धी जानकारीका लागि ११५५, विपद् सहायताका लागि १२३४, नेपाल प्रहरीका लागि १०० र सशस्त्र प्रहरी बलका लागि १११४ नम्बरमा सम्पर्क गर्न सकिने जनाएको छ ।


























