
गुल्मी । गुल्मीको कालीगण्डकी गाउँपालिका–२ दबौखानीमा स्कार्पियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । पाँच जनाको घटनास्थलमै मृत्यु भएको थियो भने एक जनाको उपचारका क्रममा ज्यान गएको हो ।
स्याङ्जाको चिरकोटबाट गुल्मीको राक्सेतर्फ जाँदै गरेको बा ०२२० नम्बरको स्कार्पियो सोमबार दिउँसो करिब ४ बजे कालीगण्डकी करिडोर सडकखण्डबाट करिब २५० मिटर तल खसेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा परेर घटनास्थलमै मृत्यु हुनेमा स्कार्पियो चालक स्याङ्जाको वालिङ नगरपालिका–२ का ६७ वर्षीय दिलिपकुमार बागले, वालिङ–१० का शिव पराजुली, गुल्मीको कालीगण्डकी गाउँपालिका–१ सिरकोटका लोकनाथ पाण्डे, सीता पाण्डे र कुलानन्द पाण्डे रहेका छन् । घटनास्थलमै मृत्यु भएका अर्का एक जनाको पहिचान खुलेको छैन ।
त्यस्तै, दुर्घटनामा घाइते भएकी निता बगालेको कालीगण्डकी सामुदायिक अस्पताल मिर्मी, स्याङ्जामा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका छविलाल पाण्डेको अवस्था गम्भीर रहेको छ भने गोमता पाण्डे र बालकृष्ण सुवेदीको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।
इन्स्पेक्टर सुदीप नेपालीका अनुसार दुर्घटनाको थप विवरण संकलन भइरहेको छ । मृतक तथा घाइतेको विवरण पुष्टि गर्ने कामसमेत भइरहेको उनले बताए ।

























