
काठमाडौं । भोटेकोशी बाढीका कारण घरपरिवार र व्यवसाय तथा प्रतिष्ठानतर्फ ७९ अर्ब १७ करोड रुपैयाँ बराबरको क्षति भएको छ। राष्ट्रिय योजना आयोगले सार्वजनिक गरेको सर्वेक्षणको प्रारम्भिक विवरणअनुसार घरपरिवारतर्फ ६९ अर्ब ५७ करोड र व्यवसाय तथा प्रतिष्ठानतर्फ नौ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति भएको हो ।
सर्वेक्षणअनुसार आफ्नै स्वामित्वमा रहेको घरजग्गाअन्तर्गत ५४ दशमलव ६५ हेक्टर क्षेत्रफलमा क्षति पुगेको छ। घडेरीमा १३ अर्ब २६ करोड र घर निर्माण लागततर्फ ११ अर्ब ९५ करोड रुपैयाँ बराबरको क्षति भएको आयोगले जनाएको छ ।
बाढीका कारण तीन हजार ६१० परिवारको स्वामित्वमा रहेको ५०७ दशमलव ९७ हेक्टर जग्गामा क्षति पुगेको छ। यसको मूल्य ३५ अर्ब ४४ करोड रुपैयाँ बराबर रहेको छ । त्यस्तै, दुई हजार ९५१ परिवारको खेतबारीमा लगाइएको बालीमा २३ करोड २१ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।
एक हजार ८७६ परिवारले भण्डारण गरेर राखेको खाद्यान्नमा १० करोड ४१ लाख रुपैयाँ बराबरको क्षति पुगेको छ । पशुपन्छी तथा माछातर्फ एक हजार ११ परिवारको २१ करोड ४२ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।
सवारीसाधनतर्फ एक हजार ११५ परिवारको एक अर्ब २४ करोड रुपैयाँ बराबरको क्षति भएको छ । त्यस्तै, बहुमूल्य, सांस्कृतिक तथा पुरातात्त्विक वस्तुतर्फ दुई हजार ३३० परिवारको पाँच अर्ब दुई लाख रुपैयाँ बराबरको क्षति भएको आयोगको विवरणमा उल्लेख छ ।
बाढीले घरायसी वस्तुमा समेत ठूलो क्षति पुर्याएको छ । तीन हजार १८७ परिवारका टिकाउ प्रकृतिका घरायसी वस्तुमा एक अर्ब ४५ करोड रुपैयाँ बराबरको क्षति भएको छ । त्यस्तै, दुई हजार ७६९ परिवारका कम टिकाउ प्रकृतिका घरायसी वस्तुमा ६६ करोड ३५ लाख रुपैयाँ बराबरको क्षति पुगेको छ ।
आयोगका अनुसार बाढीबाट चार जिल्लाका ६ हजार ८१७ परिवारका ३२ हजार ८७२ जना प्रभावित भएका छन् । त्यस्तै, ४९९ व्यवसाय तथा प्रतिष्ठान प्रभावित भएका छन् भने दुई हजार ९८९ आवासीय संरचना पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् ।
प्रभावित परिवारमध्ये धादिङमा ९४८, गोरखामा १०८, नुवाकोटमा तीन हजार ८४१ र रसुवामा एक हजार ९२० परिवार छन् । व्यवसाय तथा प्रतिष्ठानतर्फ धादिङमा १०४, गोरखामा १५, नुवाकोटमा ३२३ र रसुवामा ५७ वटा प्रभावित भएका छन् ।
सर्वेक्षणका लागि अनलाइन एप र ट्याब्लेट प्रयोग गर्दै कर्मचारी परिचालन गरिएको थियो । चार जिल्लाका १५ स्थानीय तहमा ५८ टोलीमार्फत १५६ जनशक्ति खटाइएको आयोगले जनाएको छ ।

























