झापाका विकास आयोजनाबारे सांसदको चासो

Share this
734shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक ११, बुधबार १२:४०

झापा । झापामा सञ्चालित विकास आयोजना, एसियन हाइवे निर्माण, भूमि समस्या समाधान र सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने विषयमा प्रतिनिधिसभा सदस्य र सरकारी कार्यालयका प्रमुखबीच छलफल भएको छ ।

जिल्ला प्रशासन कार्यालय झापामा भएको अन्तरक्रियामा झापा क्षेत्र नम्बर ३ का सांसद प्रकाश पाठक र क्षेत्र नम्बर ४ का सांसद शम्भु सुस्केरासहित सरकारी कार्यालयका प्रमुख, भूमि समस्या समाधान समितिका पदाधिकारी, सडक आयोजना प्रमुख र निर्माण कम्पनीका प्रतिनिधि सहभागी थिए ।

छलफलमा सांसदहरूले एसियन हाइवे लगायतका विकास आयोजनाको प्रगति, निर्माणका क्रममा देखिएका समस्या र समयमै काम सम्पन्न गर्न सम्बन्धित निकायले खेल्नुपर्ने भूमिकाबारे चासो राखे । उनीहरूले आयोजना अनुगमन, कार्यालयबीच समन्वय र जबाफदेहिता प्रभावकारी बनाउन आग्रह गरे ।

भूमि समस्या समाधान, हात्तीको आक्रमणबाट हुने क्षति न्यूनीकरण, सार्वजनिक सेवा सुधार र नागरिकका गुनासोको सुनुवाइ पनि छलफलका विषय बने । नागरिकले सरकारी सेवामा परिवर्तनको अनुभूति गर्न सक्ने गरी कर्मचारीले आफ्नो कार्यशैली र व्यवहार सुधार्नुपर्नेमा सांसदहरूले जोड दिए ।

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जिल्लाको शान्ति सुरक्षा, सेवा प्रवाह र विकास निर्माणका कामबारे जानकारी गराउँदै सेवा परिणाममुखी बनाउने उद्देश्यले काम भइरहेको बताए । उनले नागरिकका गुनासो सम्बोधन गर्न तयार पारिएको प्रारम्भिक कार्ययोजना प्रस्तुत गर्दै भूमि समस्या समाधानलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता जनाए ।

भूमि समस्या समाधानको काम प्रभावकारी बनाउन थप जनशक्ति आवश्यक रहेको उल्लेख गर्दै पोखरेलले त्यसको व्यवस्थापनका लागि सांसदहरूसँग पहल गरिदिन आग्रह गरे । हात्ती प्रभावित क्षेत्रका नागरिकको सुरक्षा र जनधनको क्षति न्यूनीकरणका लागि सम्बन्धित निकायबीच समन्वय गर्नुपर्ने विषय पनि उठाइएको थियो ।

सहभागीहरूले विकास आयोजना समयमै सम्पन्न गर्न जनप्रतिनिधि, सरकारी कार्यालय र निर्माण व्यवसायीबीच नियमित समन्वय आवश्यक रहेको औँल्याए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×