वर्षा र चक्रवातको जोखिमलाई ध्यान दिँदै सतर्क रहन प्राधिकरणको आग्रह

Share this
694shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक १०, मंगलबार १५:२२

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले कात्तिक १३ र १४ गते देशका विभिन्न भागमा मध्यमदेखि भारी वर्षा हुने सम्भावना रहेकाले सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ ।

मौसम पूर्वानुमान महाशाखाले कात्तिक ९ गते जारी गरेको विशेष मौसमी बुलेटिनअनुसार समुद्री क्षेत्रमा विकसित भइरहेको शक्तिशाली चक्रवातको प्रभावले नेपालमा वर्षा, हिमपात, बाढी, पहिरो, चट्याङ, हुरीबतास र डुबानको जोखिम रहेको प्राधिकरणले जनाएको छ ।

प्रतिकूल मौसमका कारण विद्युतीय संरचनामा क्षति पुग्न र विद्युत् सेवा अवरुद्ध हुन सक्ने भएकाले आवश्यक सावधानी अपनाउन प्राधिकरणले अनुरोध गरेको हो ।

सम्भावित जोखिमलाई ध्यानमा राख्दै विद्युतीय संरचनाको सुरक्षा तथा सेवा अवरुद्ध भएमा तत्काल मर्मतसम्भार गरी आपूर्ति नियमित गर्न सम्बन्धित कार्यालयका कर्मचारीलाई तयारी अवस्थामा राखिएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले प्रतिकूल मौसममा जोखिमको आकलन गरी सुरक्षित स्थानमा बस्न, अत्यावश्यक कामबाहेक आवतजावत नगर्न र विद्युतीय उपकरण सावधानीपूर्वक प्रयोग गर्न आग्रह गरेको छ । साथै, आधिकारिक स्रोतबाट प्राप्त सूचना मात्र सम्प्रेषण गर्न र सोहीअनुसार आवश्यक सावधानी अपनाउन पनि अनुरोध गरेको छ ।

विद्युत् सेवा अवरुद्ध भएमा वा विद्युतीय संरचनामा क्षति पुगेमा सम्बन्धित वितरण केन्द्र वा हेल्पडेस्कमा सम्पर्क गर्न प्राधिकरणले उपभोक्तालाई आग्रह गरेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×