
धनकुटा । बंगालको खाडीमा विकसित चक्रवातको प्रभावले कात्तिक १२ देखि १४ गतेसम्म कोशी प्रदेशका जिल्लामा चट्याङसहित भारी वर्षा र हावाहुरीको सम्भावना रहेकाले जिल्ला प्रशासन कार्यालय धनकुटाले सतर्कता अपनाउन आग्रह गरेको छ ।
सार्वजनिक सूचनामार्फत प्रशासनले उक्त अवधिमा धान काट्ने तथा खेतीपाती गर्ने काम नगर्न, अत्यावश्यकबाहेक यात्रा नगर्न र जोखिमयुक्त स्थानमा बसोबास गर्ने नागरिकलाई सुरक्षित रहन अनुरोध गरेको हो ।
प्रशासनका अनुसार बंगालको खाडीमा विकसित चक्रवात थप शक्तिशाली बन्न सक्ने र त्यसको प्रभावले बाढी, पहिरो, डुबान तथा हावाहुरीबाट जनधनको क्षति हुन सक्ने सम्भावना छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र जल तथा मौसम विज्ञान विभागको विशेष बुलेटिनका आधारमा प्रशासनले सम्भावित जोखिमबाट जोगिन आवश्यक सतर्कता अपनाउन आग्रह गरेको जनाएको छ ।

























