बोल्सोनारो परिवारमाथि कसिँदै कानुनी घेरा, विदेश यात्राले बढायो विवाद

Share this
695shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक ११, बुधबार ०७:४८
राष्ट्रपति निर्वाचनमा पराजित फ्लाभियो बोल्सोनारो (वायाँ) र राष्ट्रपतिमा निर्वाचित लुला दा सिल्भा ।

एजेन्सी । ब्राजिलका पूर्वराष्ट्रपति जायर बोल्सोनारोको परिवार फेरि राजनीतिक तथा कानुनी विवादमा तानिएको छ । राष्ट्रपतीय निर्वाचनमा पराजित फ्लाभियो बोल्सोनारोको विदेश यात्रालाई लिएर सर्वोच्च अदालतको आदेश, राहदानीसम्बन्धी कारबाही र अमेरिकी प्रशासनको भूमिकाले ब्राजिलको राजनीतिक वातावरण थप तनावपूर्ण बनेको छ ।

सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान चलिरहेका बेला सर्वोच्च अदालतका न्यायाधीश अलेक्जान्द्रे डी मोराइसले फ्लाभियोलाई देश छाड्न रोक लगाउँदै २४ घण्टाभित्र राहदानी बुझाउन आदेश दिएका थिए । आदेश पालना नभएपछि उनको राहदानी रद्द गरिएको छ । तर, यसबीच फ्लाभियो अमेरिका पुगेको समाचारसमेत बाहिरिएको छ । उनी कुन बाटो हुँदै अमेरिका पुगे भन्नेबारे भने स्पष्ट छैन ।

फ्लाभियो र उनका वकिल विलर तोमाजबीचको सम्बन्ध तथा सम्भावित वित्तीय कारोबारमाथि अनुसन्धान भइरहेको छ । फ्लाभियोले आफूमाथि लागेका आरोप अस्वीकार गर्दै आएका छन् । उनले यसअघि सामाजिक सञ्जालमार्फत आफू ब्राजिल छाड्ने मनसायमा नरहेको बताएका थिए । अदालतको आदेशअनुसार राहदानी बुझाउने र राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाको सरकारविरुद्ध प्रतिपक्षीको भूमिका निर्वाह गर्ने उनको भनाइ थियो ।

यसैबीच, अमेरिकी विदेश मन्त्रालयका एक वरिष्ठ अधिकारीले फ्लाभियो र उनको परिवारलाई भिसा जारी गरी अमेरिका प्रवेश गर्न दिने बताएका छन् । यसले ब्राजिलको आन्तरिक राजनीतिक विवादमा अमेरिकी भूमिकालाई लिएर पनि प्रश्न उठाएको छ ।

ब्राजिलका राष्ट्रपति लुलाले फ्लाभियोले देश छाडेको खबरप्रति असन्तुष्टि जनाउँदै त्यसलाई लज्जास्पद टिप्पणी गरेका छन् । आफू निर्वाचनमा पराजित हुँदा देशमै बसेको स्मरण गराउँदै उनले लुकाउनुपर्ने केही नभए डराउनुपर्ने कारण नहुने बताएका छन् । बोल्सोनारोले ब्राजिलमै बसेर आफूमाथिका आरोप गलत साबित गर्न सक्ने भए पनि त्यसो नगरेको लुलाको आरोप छ ।

यद्यपि, कानुनी विज्ञहरूले अदालतको आदेश उल्लंघन गरेको आरोप लाग्दैमा कसैलाई स्वतः भगौडा भन्न नमिल्ने बताएका छन् । पक्राउ पुर्जी जारी भएको अवस्थामा त्यसको कार्यान्वयनका लागि उपस्थित नभएपछि मात्रै भगौडाको कानुनी अवस्था बन्न सक्ने उनीहरूको भनाइ छ । आदेश अवज्ञा गरेको पुष्टि भएमा भने छुट्टै कानुनी कारबाही हुन सक्छ ।

फ्लाभियोका पिता जायर बोल्सोनारो पनि सन् २०२२ को निर्वाचनमा लुलासँग पराजित भएका थिए । निर्वाचनपछि सत्ता कब्जाको प्रयास गरेको अभियोगमा उनलाई २७ वर्षको जेल सजाय सुनाइएको छ । उनी अहिले घरमै नजरबन्दमा छन् ।

बोल्सोनारो परिवारमाथि बढ्दो कानुनी दबाब र फ्लाभियोको विदेश यात्रासम्बन्धी विवादले ब्राजिलको राजनीतिमा नयाँ ध्रुवीकरण सिर्जना गर्ने संकेत देखिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×