‘अर्णव’ चक्रवातको प्रभावले श्रीलङ्कामा विद्यालय बन्द

Share this
688shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक ११, बुधबार ०८:२३

एजेन्सी । बंगालको खाडीमा विकसित ‘अर्णव’ चक्रवातको प्रभावले श्रीलङ्कामा मुसलधारे वर्षा भएपछि सरकारले देशभरका विद्यालय बन्द गर्ने निर्णय गरेको छ । समुद्रमा चार मिटरसम्म अग्ला छाल उठ्न सक्ने सम्भावना रहेकाले माछा मार्नसमेत प्रतिबन्ध लगाइएको छ ।

शिक्षा मन्त्रालयले विद्यार्थी र कर्मचारीको सुरक्षालाई ध्यानमा राखेर विद्यालय बन्द गरिएको जनाएको छ । यद्यपि, सामान्य शिक्षा प्रमाणपत्र तहको सौन्दर्यसम्बन्धी व्यावहारिक परीक्षा पूर्वनिर्धारित तालिकाअनुसार नै सञ्चालन हुने मन्त्रालयले स्पष्ट पारेको छ । भीषण वर्षाका कारण बाढी र पहिरोको जोखिम बढेपछि विभिन्न क्षेत्रमा उच्च सतर्कता अपनाउन चेतावनी जारी गरिएको छ ।

भारतीय मौसम विज्ञान विभागका अनुसार चक्रवात पश्चिम-उत्तरपश्चिम दिशातर्फ प्रतिघण्टा १७ किलोमिटरको गतिमा अघि बढिरहेको छ । यो चक्रवात बुधबार बिहान भारतको विशाखापट्टनम र बापटला तटीय क्षेत्रबाट प्रवेश गर्ने अनुमान गरिएको छ । चक्रवातको प्रभाव श्रीलङ्का र भारतका साथै बंगालको खाडीनजिकका अन्य दक्षिण एसियाली क्षेत्रमा समेत पर्न सक्ने मौसमविद्ले बताएका छन् ।

चक्रवातको केन्द्रवरिपरि हावाको गति प्रतिघण्टा २१५ देखि २२० किलोमिटरसम्म पुगेको विवरणमा उल्लेख छ । तटीय क्षेत्रमा प्रवेश गर्ने समयमा यसको गति प्रतिघण्टा १३५ किलोमिटर रहने पूर्वानुमान गरिएको छ । चक्रवातको जोखिम बढेपछि भारतको आन्ध्र प्रदेश र काकिनाडा क्षेत्रबाट करिब ८९ हजार नागरिकलाई सुरक्षित स्थानमा सारिएको छ। साथै, ५० भन्दा बढी रेल सेवा र हवाई उडान रद्द गरिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×